दमौली, २९ चैत (रासस) : प्रत्येक स्थानीय तहमा कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायको कम्तीमा एक नमूना फार्म स्थापना गर्ने उद्देश्यसहित गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गर्न लागेको कार्यक्रमका लागि तनहुँका २४ फार्म छनोट भएका छन् । मन्त्रालयले नमूना फार्म स्थापनाका लागि आवेदन आह्वान गरेबमोजिम सो सङ्ख्यामा फार्म कार्यक्रमका लागि छनोट भएका हुन् ।
यही चैत २२ गतेको मन्त्रालयको सचिवस्तरको निर्णयबमोजिम कार्यक्रम सञ्चालनका लागि भैँसीपालन, गाईपालन, तरकारी खेती, एकीकृत (कृषि र पशुपालन), बाख्रापालन, फलफूल, कुखुरापालन, बङ्गुरपालन, मौरीपालन र च्याउ व्यवसायका लागि कृषक छनोट गरिएको भेटेरीनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।
कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार भैँसीपालन व्यवसायतर्फ दुई समूह छनोट गरिएका छन् । भैँसीपालन व्यवसायका लागि छनोट भएको फार्मले रु २६ लाखको संक्षिप्त योजना प्रस्ताव गर्नुपर्नेछ । त्यस्तै गाईपालन व्यवसायका लागि तीन फार्म छनोट गरिएका छन् । गाईपालन व्यवसायका लागिसमेत रु २६ लाखको प्रस्ताव मन्त्रालयमा पेश गर्नुपर्ने हुन्छ ।
तरकारी खेतीका लागि चार सहकारी संस्था तथा समूह छनोट भएका छन् । तरकारी खेती व्यवसायका लागि रु १२ लाखको प्रस्ताव मन्त्रालयमा पेश गर्नुपर्ने छ । एकीकृत (कृषि र पशुपालन मिश्रित) व्यवसायतर्फ दुई संस्था छनोट भएका छन् । एकीकृत व्यवसायका लागि २० लाख चार हजारको प्रस्ताव मन्त्रालयमा पेश गर्नुपर्ने जनाइएको छ ।
बाख्रापालनका लागि चार कृषि फार्म छनोट भएका बताइएको छ । यो व्यवसायका लागि कृषकले रु २० लाखको संक्षिप्त योजना मन्त्रालयमा पेश गर्नुपर्ने छ । फलफूल खेतीतर्फ एक सुन्तला उद्योग छनोट भएको छ भने कृषकले रु १५ लाखको संक्षिप्त योजनासहित मन्त्रालयसँग सम्झौता गर्नुपर्ने जनाइएको छ ।
कुखुरापालनतर्फ चार फार्म छनोट भएका छन् । सो व्यवसायका लागि कृषकले रु १८ लाख ६० हजारको प्रस्ताव पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ । बङ्गुरपालनका लागि चार कृषि तथा पशुपक्षी फार्म छनोट भएका छन् । यो व्यवसायका लागि कृषकले रु २० लाखको संक्षिप्त प्रस्ताव पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
नहर मर्मत ७१ प्रतिशत
जिल्लाको सबैभन्दा ठूलो सिँचाइ आयोजनाको नहर मर्मतको काम ७१ प्रतिशत सम्पन्न भएको छ । घिरिङ गाउँपालिका–१ स्थित अत्रौली पुट्टार सिँचाइ उपआयोजनाको नहर मर्मतको काम ७१ प्रतिशत सम्पन्न भएको हो । छ वर्ष अघि पहिरोले भत्काएर बन्द रहेको आयोजनाको नहर मर्मतका लागि विसं २०७२ माघदेखि काम शुरु भएको अत्रौली पुट्टार जल उपभोक्ता समितिका अध्यक्ष रामजी अर्यालले जानकारी दिनुभयो ।
विसं २०७२ असोज १७ गते नहर मर्मतका लागि सिँचाइ विभाग र सिँचाइ योजना जल उपभोक्ता समितिबीच सम्झौता भएको थियो । विसं २०७२ मङ्सिर १८ गते बोलपत्र स्वीकृत भई माघदेखि रायमाझी कन्सट्रक्सन प्रालि काठमाडौँले नहर मर्मतको काम गरिरहेको अर्यालले बताउनुभयो । एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा उक्त योजनाको मर्मत कार्य भइरहेको छ । सिँचाइ योजनाको मर्मतका लागि रु २० करोड ८० लाख विनियोजन भएको छ ।
साढे १८ किलोमिटर आयोजनाको मर्मतका लागि विसं २०७५ मङ्सिरसम्म म्याद रहेकामा सो अवधिमा काम नसकिएपछि एक पटक म्याद थप भइसकेको छ । विसं २०७६ जेठ २० गतेसम्म मर्मतको काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको उहाँले जानकारी दिनुभयो । विसं २०६९ मा गएको भीषण पहिरोले आयोजनाको नहर भत्किँदा आयोजना अवरुद्ध बनेको थियो ।
सरसफाइ सामग्री वितरण
डिभिजन वन कार्यालय तनहुँले व्यास नगरपालिका–१ भादगाउँस्थित मिलनटोल र विज्ञानचौर टोललाई सरसफाई सामग्री वितरण गरेको छ । कार्यालयले पचास सेट डस्टविन, कुचो लगायतका सरसफाइ सामग्री वितरण गरेको छ । स्वच्छ वातावरण अभियान कार्यक्रम अन्तर्गत दुवै टोलमा रु ३०÷३० हजारका बराबरको उक्त सामग्रीहरु वन कार्यालयले खरिद गरि आज हस्तान्तरण गरेको हो ।
डिभिजन वन प्रमुख केदार बरालका अनुसार जिल्लाभर विभिन्न चार स्थानमा शहरी पार्क, छ सामुदायिक वनमा पार्क, वनभोज स्थल निर्माण भईरहेका र ३३ घरबासको विकासका लागि प्रदेश सरकार मार्फत प्रति घरबासे रु १० लाखका दरले रकम उपलब्ध गराउने प्रक्रिया चलिरहेको छ ।