फ्रान्सकाे ८ सय ५० वर्ष पुरानाे विश्वप्रसिद्ध चर्चमा भीषण आगलागी

रिता घिसिंग

एजेन्सी : फ्रान्सको राजधानी पेरिसमा रहेको ८५० वर्ष पुरानो प्रसिद्ध चर्च नोट्र–डाम गिर्जाघरमा आगलागी भएको छ । सोमबार राति त्यहाँको ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा आगलागी भएकाे जनाइएकाे छ ।

आगलागीको कारण खुल्न सकेको छैन । तर सरकारी अधिकारीहरूले सो जिर्गाघरको जीर्णोद्धार भैरहेकोले आगलागीको सम्बन्ध हुन सक्ने बताएका छन् ।
पेरिसकाे आइफल टावरनजिकै रहेकाे साे चर्चकाे साढे ८ सय वर्ष पुरानो गोथिक भवनमा लागेको आगो नियन्त्रणमा लिन ठूलो स्तरमा प्रयास भइरहेको छ ।

सो गिर्जाघरको छाना र शिखर ध्वस्त भएको बिबिसीले जनाएको छ । गत वर्ष फ्रान्सको क्याथोलिक गिर्जाघरले जीर्ण भएको भन्दै सो भवनलाई जोगाउनका निम्ति सहयोग गर्न अपील गरेको थियो ।

आगलागीको दृश्य हेर्न हजारौँ मानिस सडकमा निस्केका छन् । घटनास्थल पुगेका राष्ट्रपति एमानुएल माक्रोँले क्याथोलिक र फ्रान्सेली नागरिकप्रति आफ्नो समवेदना रहेको बताए ।

आगलागीकाे घटनापछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले दु:ख व्यक्त गरेका छन् । उनले फ्रान्सको लागि एक अमुल्य सम्पतीका रुपमा रहेको ऐतिहासिक चर्चलाई पुरानै अवस्थामा र्फकाउने प्रतिबद्धता जनाएका छन् ।

आगलागीबाट मानवीय क्षति भएकाे विवरण अहिलेसम्म आएकाे छैन । यद्यपि चर्चका थप कलाकृतिहरु क्षति हुन नदिन र आगो नियन्त्रणमा ल्याउन अग्निनियन्त्रकहरु खटिएका छन् ।

प्रतिक्रिया