कनकाई, ३ वैशाख: झापा कनकाई नगरको विरिङ् नदी किनारमा सामूहिक पूजाअर्चनाका साथ सिरुवा घाटोसरी कार्यक्रम मनाइएको छ । विशेषगरी राजवंशी समुदायले प्राथमिक्ताका साथ नयाँ वर्षको शुरुआतसँगै तीन दिनसम्म मनाउने गरेको सिरुवा पर्वको धार्मिक साथै वैज्ञानीक महत्व समेत रहेको बताइएको छ ।
घाटोसरी विश्वभरि रहेका कोच राजवंशीको महानपर्व भएकाले यो पर्व हरेक वर्षको वैशाख २ गतेका दिन महत्वका साथ मनाउने परम्परा भएको बताइएको छ । कार्यक्रमको आँैचित्यमाथि प्रकाश पार्दै आयोजक संस्थाका सदस्य अरुण राजवंशीले घाटोसरी पर्वमा कोच समुदायका महिला खोलाको किनारमा गएर पूजाअर्चना गर्नुका साथै घाटोसरी गीत गाउने परम्परा छ ।
यसपर्वको पहिलो दिन वैशाख १ गते पानी सिरुवा, दोस्रो दिन घाटो सरी र तेस्रो दिन रङ्ग सिरुवा मनाउने परम्परा रहेको राजवंशीले बताउनुभयो । नेपालमा लोप हुन लागेका विभिन्न जातजातीको आफ्नो धर्म संस्कृति, भाषाभाषीको संरक्षणका लागि सबै जाती एक जुट हुनुपर्ने तर्फ जोड दिँदै कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं–२ का प्रदेशसभा सदस्य एकराज कार्कीले राजवंशी समुदायको भावनालाई राज्यले सधैँं सम्मान गर्ने बताएका छन् ।
राष्ट्रिय पोशाक साडी चोलोमा सजिएका राजवंशी समुदायका महिलाले कार्यक्रमका अतिथिसँग सामूहिक घाटोसरी गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए । आयोजक संस्थाका तर्फबाट कार्यक्रमका प्रमुख अतिथिलगायत सम्पूर्ण अतिथिलाई माटोको टीका लगाएर कार्यक्रमको उद्घाटन गरिएको आयोजक समितिका सदस्य धर्मलाल राजवंशीले बताएका छन् ।