लहान, ४ वैशाख (रासस) : जिल्ला अस्पताल सिरहामा औषधिको चरम आभाव भएको छ । विगत एक वर्षदेखि औषधिको आपूर्ति हुन नसक्दा जिल्ला अस्पतालमा औषधिको चरम अभाव भएको हो । कूल ५० श्ययाको उक्त अस्पतालमा हाल कुनै पनि औषधि नरहेको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालबाट ७० प्रकारको औषधि निःशुल्क वितरण गर्ने व्यवस्था छ । निःशुल्क वितरण गर्ने भनिए पनि जिल्ला अस्पताल सिरहामा अहिले कुनै प्रकारको औषधि नरहेको अस्पतालका अस्पतालका मेडिकल सुपरीटेण्डन्ट नागेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालमा एक वर्षदेखि औषधिको आपूर्ति हुन सकेको छैन् । अस्पतालमा आवश्यक औषधि नहुँदा बिरामी निजी क्लिनिकबाट चर्काे मूल्यमा औषधि खरीद गर्न बाध्य छन् ।
औषधिको अभाव भएको बारेमा पटक÷पटक सम्बन्धित निकायमा जानकारी गराउँदा आपूर्ति नभएको गुनासो गर्नुभयो । सङ्घीय व्यवस्थाअनुसार नगरपालिका कार्यालयले औषधि खरीद गरी अस्पताललाई औषधि उपलब्ध गराउनुपर्ने भए पनि नगरपालिका यसतर्फ गम्भीर नभएको मेसु यादवको भनाइ छ ।