बुटवल, बैशाख ५ : पाल्पाको रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । कार्यालय नजिकै रहेको सेवाग्राही बस्ने प्रतिक्षालयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए ।
उनका अनुसार विस्फोटबाट प्रतिक्षालय र गाउँपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ । कार्यालयको झ्यालका सिसा फुटेका छन् । कार्यालयका कम्प्युटरमा समेत क्षति पुगेको छ । बिहीबार बिहान साढे एक बजेतिर भएको विस्फोट कसले र किन गराएको हो भन्ने बारे अहिलेसम्म खुलेको छैन ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेकाले प्रहरीले नेकपाले नै विष्फोट गराएको हुनसक्ने आशंका गरेको छ । नेकपाको बन्दका कारण लामो दूरीका गाडी चलेका छैनन् भने बजार पनि बन्द छ ।