काठमाडौँ, ५ वैशाख (रासस) : नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ । नेपाल प्रहरी अस्पतालको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘शिशु स्याहार केन्द्र’ तथा विशिष्ट व्यक्तिको उपचारका लागि स्थापना गरिएको ‘भिआइपी कक्ष’को उद्घाटन गर्नुभएको हो ।
विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले १५० श्यया रहेको छ ।
सो अवसरमा महानिरीक्षक खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवासुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गर्नुभयो । “अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ, आगामी दिनमा झन् राम्रो सेवा प्रदान गर्न लाग्नुहोस्,” उहाँले भन्नुभयो । उहाँले व्यावसायिकतालाई विवेकपूर्ण ढङ्गले उत्कृष्ट रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।
महानिरीक्षक खनालले प्रहरी अस्पताललाई अरू अस्पतालभन्दा उत्कृष्ट अस्पतालका रुपमा विकास गर्न मन, वचन र कर्मले काम गर्न सबै अस्पतालका चिकित्सक तथा कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।
अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० श्ययाको अस्पतालका रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको जानकारी दिनुभयो ।
अस्पतालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बारा–पर्सामा भर्खरै गएको हावाहुरीबाट घाइते जनताको उपचार, काठमाडौँका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको उहाँले बताउनुभयो ।
नेपाल प्रहरी र नेपाल प्रहरीका आश्रित परिवारलाई उपचार गर्दै आएको अस्पतालले गत वर्षदेखि सर्वसाधारण जनतालाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालले विसं २०७४ चैतदेखि २०७५ फागुनसम्म एक लाख ५१ हजार ७२६ प्रहरी कर्मचारी, प्रहरी कर्मचारीका आश्रित परिवार र सर्वसाधारणलाई उपचार गरेको जनाएको छ ।
प्रहरी अस्पतालले आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा मीनराज पाठकले जानकारी दिनुभयो ।
यस्तै अस्पतालले वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, वार्षिकोत्सव पूजा र बिरामीलाई फलफूल वितरणसमेत गरेको डा पाठकले जानकारी दिनुभयो ।
नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष प्रमिला खनालले अस्पतालका प्रमुख डा थापालाई अस्पतालमा प्रयोग हुने तन्ना र तकियाको खोल प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले प्रदान गरेको रु एक करोड ५० लाखको थैली अस्पतालका प्रमुख डा थापालाई हस्तान्तरण गर्नुभयो ।
उहाँले अस्पतालबाट वार्षिक रुपमा प्रकाशन हुँदै आएको ‘आरोग्य दर्पण–२०७५’ को विमोचनसमेत गर्नुभयो । अस्पतालमा रहेर उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो ।