नवौँ राष्ट्रिय खेलकूद गण्डकीमा हुने

admin

राँझा, ११ वैशाख: नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गण्डकी प्रदेशमा आगामी २०७७ फागुन २० देखि २७ गतेसम्म हुने भएको छ । आज नेपालगञ्जमा बसेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा पारिवारिक शोकमा परेर अनुपस्थित भएपछि राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बोर्ड बैठकले सो निर्णय गरेको सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनुभयोे । कर्णाली प्रदेशले पनि नवौँ राष्ट्रिय खेलकूदको आयोजना गर्न पाउनुपर्ने माग गरे पनि भौतिक पूर्वाधार र तयारीका आधारमा सो प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरिएको विष्टले बताउनुभयो ।

“पूर्वाधार बनेको अवस्थामा कर्णालीमा राष्ट्रिय खेलकूद आयोजना गर्न अधिकार दिने विषयमा छलफल भएको थियो, थप प्रस्ताव नआएपछि यसअघि सहमति बनेको गण्डकी प्रदेशलाई आयोजना गर्न दिने निर्णय गरिएको हो”, सदस्य सचिव विष्टले भन्नुभयो । पूर्वाञ्चलमा सम्पन्न साताँै राष्ट्रिय खेलकूदको बेला तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रले आठौँ राष्ट्रिय खेलकूद आयोजनाको दाबी गरेको थियो । तत्कालिन खेलकूदमन्त्री दलजित श्रीपाइलीले जोड गरेर मध्यपश्चिमलाई आठौँ राष्ट्रिय आयोजना गर्न दिने निर्णय गराउनुभएको थियो ।
-रासस

प्रतिक्रिया