काठमाडौँ, १२ वैशाख: काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट कीर्तिपुर पाँगा बस्ने बारा पतरहट्टा गाउँपालिका–२ का प्रिन्सकुमार सिंहलाई नियन्त्रित लागुऔषधसहित प्रहरीले आज पक्राउ गरेको छ । नाइट्रोभेट १५० ट्याबलेटसहित प्रहरीले सिंहलाई कलङ्कीबाट पक्राउ गरिएको हो । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरको उडानबाट काठमाडौँ आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाड्मुसलाई हतियारसहित पक्राउ परेका छन् । भन्सार कार्यालयका कर्मचारीले उनको हाते ब्याग जाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको बन्दुकजस्तो देखिने कालो रङ्गको हतियार एक थान र १७७ क्यालिबरको गोलीको प्याकेट तीन थान फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बुधबार साँझ पक्राउ परेका उनको विषयमा महानगरीय प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
-रासस