स्वर्णपदक विजेता गुरुङलाई सम्मान

admin

काठमाडौं, १३ बैशाख : काठमाडौंको सामाखुशीमा रहेको संस्कार ईंग्लिश स्कुलले हालै जापानमा सम्पन्न भएको ४४.५ केजी मुनिको तेक्वान्तो प्रतियोगितामा स्वर्ण पदक विजेता नेपालकी १४ वर्षीया बालिका आकृति गुरुङलाई सम्मान गरेको छ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै उक्त स्कुलले गुरुङलाई सम्मान गरेको हो । स्वर्ण पदक विजेता गुरुङ संस्कार स्कुलमा हाल कक्षा ९ मा अध्ययनरत छिन् ।

गत एप्रिल १९ तारिख जापानको ओसाकामा सम्पन्न २५ राष्ट्र सहभागी अन्तर्राष्ट्रिय प्रतियोगितामा गुरुङले नेपालको लागि स्वर्ण पदक दिलाएकी थिईन् । स्कुलको तर्फबाट निर्देशक विमला गुरुङ र तेक्वान्दो गुरु मुगामाया पाख्रिनलगायतले उनलाई खादा तथा माला लगाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा स्कुलकी निर्देशक विमला गुरुङले नेपालको छबि अन्तर्राष्ट्रियस्तरमा उँचो बनाउने काम गरेको भन्दै स्वर्ण पदक विजेता गुरुङलाई बधाई दिईन् । उनले भनिन्,‘खेलकुदले पनि देशलाई चिनाउन सकिने रहेछ, आज हाम्री स्कुलकी छात्रा आकृतिले यो कुरा पुष्टि गरेर देखाईन् । हाम्रो लागि यो गौरवको विषय हो।’
भविष्यमा पनि यस्ताखाले प्रतियोगितामा सहभागी हुनको लागि स्कुलको तर्फबाट स्वर्णपदक विजेता गुरुङलाई जस्तोसुकै सहयोग गर्नपनि आफूहरु तयार रहेको उनको विश्वास छ ।

त्यस्तै, तेक्वान्दो गुरु मुगामाया पाख्रिनले आफू र आकृतिको लगनशीलता र निरन्तर परिश्रमका साथै स्कुलले पु¥याएको सहयोग र आवश्यक व्यवस्थापनका कारण स्वर्ण पदक जित्न सफल भएको सुनाईन् । उनले भनिन्,‘यो प्रतियोगितामा सहभागी हुनको लागि स्कुलले हामीलाई ठूलो सहयोग गरेको थियो । हामीलाई प्रतियोगिताको तयारीको सवालमा कुनैपनि कुराको अभाव हुन दिएन् । त्यही भएर हामीले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी भयौं । र, स्वर्णपदक जित्न पनि सफल भयौं । यो पदक सिँगो देश र नेपालीहरुकोलागि गौरवको विषय हो । हामी स्कुलका सम्पूर्ण टिम गौरावन्तित छौं ।’
कार्यक्रममा स्वर्णपदक विजेता आकृति गुरुङले छोटो समयको तयारीमा पनि आफूहरुले यस्तो नतिजा ल्याउन सफल भएको सुनाउँदै यसको सम्पूर्ण श्रेय स्कूल व्यवस्थापन र गुरुको मार्गनिर्देशन भएको स्पष्ट पारिन् ।

उनले भनिन्,‘हाम्रो देशमा खेलकुद क्षेत्रको विकासको लागि सरकारले ध्यान दिनुपर्छ । खेलाडीहरुको उज्जवल भविष्यको लागि सरकारले विशेष पहलकदमी लिनुपर्छ ।’ प्रतियोगिताको फाईनलमा आयोजक राष्ट्रलाई नै हराउन पाउँदा आफू निकै खुशी भएको पनि उनको प्रतिक्रिया थियो ।
नेपालबाट विभिन्न तौल समूहमा सहभागी हुन २३ जना प्रतियोगीहरु जापान गएका थिए । तीमध्ये नेपालको लागि एकमात्रै पदक त्योपनि स्वर्ण ल्याउन आकृति सफल भएकी हुन् ।

प्रतिक्रिया