‘गरिबीसँगै रोगको चिन्ताले सतायो’

रिता घिसिंग

सुर्खेत, १३ वैशाख : दिवानसिं र सीता नेपालीको वैवाहिक सम्बन्ध जोडिएको आज १२ वर्षभयो । विवाहपश्चात् दुःख गरेर उनीहरुले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बामेखोला गाउँमा चार कठ्ठा जग्गाको पनि जोहो गरे । विगतको दुःखको परिणामलाई सुखमा परिणत गर्ने दम्पती नेपालीको सपना थियो ।

दुई वर्ष साउदी अरब गएर तीन महीनाअघि घरबिदामा आएका दिवानसिं पुनः फर्कने दिनको तयारी गर्दैहुनुहुन्थ्यो । त्यही समयमा उहाँलाई रिङ्गटा चल्यो । उपचारका लागि घर नजिकैको राना मेडिकलमा परीक्षण गराउनुभयो । केही नदेखिएपछि प्रदेश अस्पतालमा परीक्षण गराउनुभएका दिवानसिंलाई अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा डम्बर खड्काले दुवै मिर्गौला खराब भएको छ भन्ने खबर सुनाएपछि उहाँलाई झनै रिङ्गटा लाग्यो ।

पछि भक्तपुर अस्पतालमा जाँच गरेपछि भने नेपालीलाई दुवै मिर्गौला बिग्रिएकोे पक्का भयो । “डाइलोसिसको विकल्प नभएको डाक्टरहरुले सुझाए,” उहाँले भन्नुभयो, “जीवन चट्टानमा बजारिए जस्तो लाग्यो । तब गरुङ्गो मन लिएर घर फर्के ।”

विदेश जानेहरुको पीडाबारे बताउँदै उहाँले भन्नुभयो, “खाडी मुलुकमा पुग्नेहरु धेरैले रोग उपहार लिएर आउँछन् । कतिले ज्यान फालेर फर्कछन् । आखिर त्यहीँ घानभित्र म पनि परेको छु । अहिलेसम्म छ पटक डाइलोसिस गरिसकेको छु । हप्तामा दुईपटक डाइलासिस गर्नुपर्दछ । सरकारले डाइलोसिसको पैसा सहयोग गर्दा केही राहत भएको छ ।”

उहाँको दुरावास्थाले श्रीमती सीता नेपाली निराशमा हुनुहुन्छ । आफूसहित एउटा १० र अर्को सात वर्षको छोरा खाउँखाउँ र लाउलाउँ भन्ने उमेरमै पतिको यस्तो अवस्थाले उहाँलाई न निन्द्रा लाग्छ नत भोक नै ।

उनान्तीस वर्षकी सीताले आफ्नो एउटा मिर्गौला दिएर भए पनि पतिलाई बचाउने जोड गरिरहनु भएको छ । यसमा दिवानसिं सहमत हुनुहुन्न । आफू नरहेपनि सीताले दुई छोराको पालनपोषण गरुन् भन्ने उहाँको अन्तिम सोच छ । दुवै जनाको कमजोर स्वास्थ्य स्थितिले बालबच्चा अलपत्र नपरुन् भनेर सीताको मिर्गौला नलिने उहाँको भनाइ थियो ।


उहाँले विदेश जानेहरुलाई आफ्नै भूमिमा भए पौरख गरेर खान आग्रह गर्नुभएको छ । अपमान सहेर कमाइ गरेको धनी व्यक्तिको स्वाभिमान स्वास्थ्य गुम्ने उहाँले तीतो अनुभूति व्यक्त गर्नुभयो । स्वास्थ्य अवस्थालाई ध्यान नदिँदा अहिले प्रत्येक महीनामा रु ३० हजार उपचार खर्च तिर्नु परेको तर आम्दानीको स्रोत केही नहुँदा समस्याले घेर्दै आएको उहाँको भनाइ थियो ।

छोराछोरी र श्रीमतीको आगामी भविष्यका लागि अटो सञ्चालन गर्ने वा सानोतिनो व्यापार गर्ने सोच बनाउनुभएका दिवानसिंले सरकारले नागरिकको स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । श्रीमती सीता भने जग्गा बेचेर उपचार गरेर श्रीमान्को आयु लम्ब्याउने धुनमा हुनुहुन्छ । रासस

प्रतिक्रिया