आचारसंहिता सप्ताह समापन

रिता घिसिंग

काठमाडौँ १३ वैशाख (रासस) : नेपाली सेनाले सङ्गठनको छवि नै धमिल्याउने गरी हुने लापरवाहीलाई क्षमा नदिइने हुनाले सैनिक सदाचारमा रही होसियारीपूर्वक जिम्मेवारी सम्हाल्न सकल दर्जालाई निर्देशन दिएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा सैनिक सदाचारको उत्साह भन्ने मूल भावनासहित आयोजित आचारसंहिता सप्ताह समापन समारोहमा नेपाली जनताले सेनालाई इतिहासको सर्जक, वर्तमानको आधार र भविष्यको आस्थाको धरोहरका रुपमा लिँदै आएको पक्षलाई हामीले बुझ्न आवश्यक रहको बताएको छ ।



समापन समारोहमा निमित्त बलाधिकृत रथी शरदकुमार गिरीले भन्नुभयो,“विकृति, विसङ्गति वा संस्थागत मूल्य मान्यता र नैतिकतासँग नसुहाउने खाले क्रियाकलाप विस्तारले समग्र सङ्गठनमा आँच पुग्नसक्ने सम्भावनाबाट चिन्तित भएर आचारसंहिता सप्ताह मनाउने निर्णय गरिएको हो । उहाँले भन्नुभयो,“सैनिक सदाचारले हामीलाई स्थापित विधि र पद्धतिबाट समस्या समाधान खोज्ने मूल्य मान्यतामा आधारित भएर कर्तव्य पालना गर्ने संस्थाका सदस्यका रुपमा सघाउ पु¥याउनेछ ।”

उत्कृष्ट सैनिक अनुशासन र आचरणसहितको सैनिक चरित्र विकास गर्न सेनाले हरेक वर्षको पहिलो महीनाको पहिलो साता सप्ताह व्यापीरुपमा आचारसंहिता सञ्चालन गर्ने निर्णय गरेको हो । संस्थाका मूल्यमान्यता, सिद्धान्त र आदर्शभित्र रही सेनाले गर्नुपर्ने, गर्न हुने र गर्न नहुने विषयमा सप्ताहका क्रममा सकल दर्जालाई प्रशिक्षण दिने गरिन्छ ।

नेपाली संस्कृति, पहिचान र भौगोलिक अवस्थिति बुझेका कारण विश्वका प्राचीन थोरै स्वतन्त्र मुलुकको सूचीमा नेपाललाई राख्न सफल हुनु गौरव हो भन्दै सेनाले अकल्पनीय सङ्कटको अवस्थामा अदम्य साहस, बफादारीको भावनाबाट कमाएको ख्यातिलाई जोगाउन सदाचार र सैनिक अनुशासनमा रहन आवश्यक रहेको सेनाको भनाइ रहेको छ ।

नेपालको प्रमुख सुरक्षा अङ्गको रुपमा रहेको नेपाली सेनाले राष्ट्रिय सुरक्षा, विकास निर्माण, अन्तर्राष्ट्रिय शान्ति स्थापना, प्रकृति तथा वन्यजन्तुको संरक्षण, विपद् व्यवस्थापनलगायतका कार्यमा परिचालित हँुदै आएको छ । सेनाले सकल दर्जालाई अनुशासित र सदाचारयुक्त तुल्याउन जङ्गी अड्डादेखि तल्लो तहसम्म आचारसंहितासम्बन्धी सप्ताह सञ्चालन गरेको हो ।

प्रतिक्रिया