नेपालको वातावरण तथ्याङ्क सार्वजनिक

admin

काठमाडौँ, १३ चैत : केन्द्रीय तथ्याङ्क विभागले नेपालको वातावरण तथ्याङ्क–२०१९ आज सार्वजनिक गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा वातावरण तथ्याङ्कको महत्व दिनानुदिन बढ्दै गएको अवस्थामा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

नेपालको वातावरणीय अवस्थाबारे जानकारी गराई स्तरीय एवम् तुलनायोग्य वातावरण तथ्याङ्क नियमित रुपमा उपलब्ध गराउने क्रममा नेपालको वातावरण तथ्याङ्क सार्वजनिक गरिएको जनाइएको छ । सन् २००२ बाट थालनी गरिएको त्यस्ता प्रतिवेदन यसअघि छ पटक प्रकाशित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क महाशाखाले तयार पारेको विधिबाट नै वातावरणीय अवस्था, गुणस्तर, प्राकृतिक स्रोत तथा यसको प्रयोग, फोहरमैला व्यवस्थापन र उपयोग गरी छ घटकमा तयार गरिएको विभागले जनाएको छ । नेपालको वातावरणीय व्यवस्थापन, वातावरण र दिगो विकास लक्ष्य, वातावरण तथ्याङ्क र यसको विकास जस्ता विषय समेटिएको छ ।

यस्तै सो तथ्याङ्कमा वातावरणीय अवस्था र गुणस्तरका तथ्याङ्क, तापक्रम, वर्षा, भौगर्भिक तथा भौगोलिक अवस्था, जैविक विविधतालगायत विषय समावेश गरिएको छ । विभागबाट विभिन्न समयमा गरिएका महत्वपूर्ण गणना, सर्वेक्षणबाट उत्पादित तथ्याङ्क तथा अन्य निकायको प्रशासनिक अभिलेखसमेत समावेश गरिएको छ ।
-रासस

प्रतिक्रिया