राजपाको महाधिवेशन कात्तिकमा

admin

धनुषा, १३ वैशाख : राष्ट्रिय जनता पार्टी (राजपा)को नयाँ नेतृत्व चयन आगामी कात्तिकमा हुने भएको छ । यही वैशाख ८ गते देखि आजसम्म चलेको पदाधिकारी बैठकले आगामी कात्तिक २८ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि वैशाखमा तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै राजपाले स्थगन गरेको थियो ।

महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कार्यसमितिका सबै सदस्य रहने गरी अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । यसैगरी राजपाले ठाकुरकै संयोजकत्वमा सबै पदाधिकारी सम्मिलित महाधिवेशन तयारी समितिसमेत गठन गर्ने निर्णय गरेको छ ।

आगामी महाधिवेशन पूर्ण हुने राजपाका महासचिव केशव झाले बताउनुभयो । अध्यक्ष मण्डलका बहुमत सदस्यहरु विशेष अधिवेशन गर्ने पक्षमा रहे पनि दोस्रो तहका नेता तथा अधिकांश पदाधिकारी पूर्ण अधिवेशनको पक्षमा छन् ।राजपाले सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ । बैठकले भ्रातृ सङ्गठनलाई तत्काल समायोजन गरी पूर्णता दिनुका साथै व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ । दुई वर्षअघि छ पार्टी मिलेर राजपा बने पनि भ्रातृ सङ्गठनहरुले पूर्णता पाउन सकेका छैनन् ।

सुरक्षा समितिको बैठक शुरु
सुरक्षा समितिको दुईदिने प्रदेशस्तरीय बैठक जनकपुरधाममा शुरु भएको छ । आजदेखि शुरु भएको बैठकको पहिलो दिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रदेशका आठै जिल्लाका सुरक्षा पदाधिकारी र प्रजिअसँग अन्तरक्रिया गर्नुभएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै महानिरीक्षक खनालले प्रदेशकोे सुरक्षा संरचना, अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीति तयार गर्ने विषयमा बैठकमा छलफल भएको बताउनुभयो । बैठकमा उहाँसहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका प्रमुख, २ नं प्रदेशका आठै जिल्लाका प्रजिअ र जिल्ला प्रहरी प्रमुखको सहभागिता छ । शनिबार गृहसचिव र गृहमन्त्रीसहितको बैठक बस्नेछ ।

‘मधेशको अधिकारका लागि काम गर्ने’
मधेशी आयोगका अध्यक्ष विजय दत्तले मधेश र मधेशीको अधिकारका लागि आयोगले काम गर्ने बताउनुभएको छ । जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले मधेशको भावना र मधेशीका सवाललाई प्राथमिकतामा राखेर आयोगको विधानअनुरूप इमानदारिताका साथ काम गर्ने प्रतिबद्वता जनाउनुभयो ।

उहाँले सबै क्षेत्रमा पहुँच हुन नसकेका सीमान्तकृत वर्ग तथा मधेशी समुदायको सशक्तीकरणकै लागि आयोगको गठन भएको बताउनुभयो । उहाँले मैथिली भाषामा मधेशको इतिहास, संस्कृतिको पहिचान, हकहित र संरक्षण सम्वद्र्धन गर्न आयोग दत्तचित भएर काम गर्ने उल्लेख गर्नुभयो ।
-रासस

प्रतिक्रिया