तम्घास, १३ वैशाख: गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । शुक्रबार पनि उक्त गाउँमा थप ४४ मानिस बिरामी परेका छन् । बिरामी भएका ४४ मध्ये आज थप दुई जनालाई उपचारका लागि गुल्मी अस्पताल पु¥याइएको छ ।
गत आइतबार सामान्य लक्षण देखिएको उक्त पखालाबाट १४८ बिरामी भएको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिनुभयो । गुल्मी जिल्ला अस्पताल तम्घासबाट उपचारका लागि प्रकोप क्षेत्रमा पुगेको चिकित्सकहरुको टोलीले पनि पखालाको मुख्य कारण अझै पत्ता लगाउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालबाट समेत दिनहुँ उक्त क्षेत्रमा पुगेर बिरामीको उपचार गरेर फर्कने गरेका छन् । बिहीबार बेलुका नियन्त्रणमा आएको उक्त पखालाबाट शुक्रबार थप ४४ बिरामी परेका छन् । शुक्रबार पनि गुल्मी जिल्ला अस्पतालबाट डा सोफिया भलामीको नेतृत्वमा जिल्ला जनस्वास्थ्यकोे टोलीले दिनभर बिरामीको उपचारमा संलग्न भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सुपरभाइजर श्रीकृष्ण भट्टराईले बताउनुभएको छ ।
खानेपानीको समस्या भएको उक्त गाउँमा पाँच किलोमिटर टाढाको दूरीबाट पाइपमार्फत एकै गाउँका ८५ घरपरिवारले गत एक वर्षदेखि उक्त पानी उपभोग गर्दै आइरहेका थिए । बिरामी परेकामध्ये पाँच जनाको गुल्मी अस्पताल तम्घासमा र एकको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको स्वास्थ्य संयोजक जिसीले बताउनुभयो । पखालाको प्रकोप देखिएको उक्त ठाउँका मानिसमा शुरुमा पेट दुख्ने, बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउनेजस्ता लक्षण देखिएको उपचारमा संलग्न गुल्मी अस्पतालका चिकित्सक सोफिया भलामीले बताउनुभएको छ ।
अहिले त्यस ठाउँका स्थानीयवासीले पानी उमालेर खाँदा पनि समस्या नरोकिएपछि पानीको खराबी भएको आशङ्का गरी उक्त गाउँमा शुक्रबार बिहानदेखि स्थानीय तालखोलाबाट ट्याङ्करमा पानी बोकेर गाउँमा खानेपानी वितरण गरिएको छ । प्रकोप क्षेत्रमा पखाला फैलिएपछि स्थानीय पशुपति निम्नमाविका केही विद्यार्थीसमेत बिरामी परेका छन् ।
-रासस