गाउँपालिका अध्यक्षको तलब विपन्नलाई

admin

दैलेख, १४ वैशाख:  दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफूले पाएको पारिश्रमिकमध्येको रु एक लाख ८० हजार गाउँपालिकाभित्र रहेका विपन्न, दलित, द्वन्द्वपीडित र जेहेन्दार व्यक्तिलाई हस्तान्तरण गर्नुभएको छ ।  गाउँपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निर्वाचन भएको दुई वर्षको अवधिसम्म प्राप्त गरेको पारिश्रमिकमध्येकै रकमबाट विभिन्न समस्या भएका सात जना व्यक्तिलाई रु एक लाख ८० हजार हस्तान्तरण गर्नुभएको बताउनुभयो ।  

द्वन्द्वपीडित परिवारका जेहेन्दार बालबालिका बालकुमारी खड्का र लक्ष्मी शाहीका छोरालाई पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले रु ५०÷५० हजारका दरले एक लाख रकम, शारीरिक तथा मानसिकरुपमा अशक्त र अपाङ्गता भएका गाउँपालिका वडा नं ३ का कालु खड्कालाई औषधि उपचार खर्चबापत रु १० हजार, दलित तथा जनजाति लोपोन्मुख तथा गरीब परिवार जेहेन्दार बालबालिकामध्ये गाउँपालिका वडा नं ७ का कक्षा १० मा अध्ययनरत मङ्गल विकलाई रु १० हजार, मिर्गाैला रोगका लागि उपचारका क्रममा मृत्यु भएका गाउँपालिका वडा नं १ का हस्तराज अधिकारीका छोराछोरीको पठनपाठनका लागि रु २० हजार जिब्रोको क्यान्सर भएका गाउँपालिका वडा नं ७ का पार्वती खत्रीका श्रीमान्को उपचारका लागि रु २० हजार र स्थानीय शिव मन्दिरमा खानेपानी धारा जडान गर्नका लागि रु १० हजार रकम कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष थापाले हस्तान्तरण गर्नुभएको हो । 

 

निर्वाचनका बेला आफूले पाउने पारिश्रमिक नलिने घोषणा गरेसँगै पारिश्रमिक रकमको उचित व्यवस्थापन गरेर कोष निर्माणसँगै विनियोजन बनाउने योजना गरेको भए पनि कोष निर्माणमा केही समय लाग्ने भएपछि तत्कालका लागि आफूले पीडितको छनोट गरेर रकम बाँडेको बताउनुभयो । 

 

गाउँपालिका अध्यक्षले आफूले पाएको पारिश्रमिकबाट आफू जस्ता विपन्न वर्गको उत्थानमा सहयोग गरेको भन्दै द्वन्द्वपीडित बालकुमारी खड्काले आँशु झार्दै भन्नुभयो, “हामीजस्ता पीडितका लागि पनि भगवान् हुनुहुँदो रहेछ । सोचेका थिएनाँै यस्ता मनकारी नेता पनि हुँदारहेछन् । ” 

-रासस

प्रतिक्रिया