पर्वन बेनीमा भूकम्प मापन यन्त्र जडान

admin

गलेश्वर, १५ वैशाख: सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वन बेनीस्थित न्यू होराइजन आवासीय माविमा भूकम्पकको जानकारी दिने ‘सिस्मोमिटर’ जडान गरिएको छ ।स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा सो यन्त्र जडान गरिने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । सो यन्त्र जडान भएपछि नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युडभन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राखिनेछ ।

विद्यालयमा जडान गरिएको उक्त यन्त्र शुभारम्भ गर्दै जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले भुकम्पको जोखिम न्यूनीकरणमा उपकरणको जडानसँगै सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । विसं २०७२ मा गएको भूकम्पका कारण नेपालमा उक्त यन्त्र प्रयोगसँगै जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरुले जोड दिए ।

स्विट्जरल्याण्डको लुजान विश्वविद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधि गरिरहुनुभएका नेपाली वैज्ञानिक शिव सुवेदीले भूकम्पपछि नेपालमा यन्त्र उपकरणसँगै यससम्बन्धी शिक्षालाई आवश्यकता अनुसार अगाडि बढाउन नसकिएको बताउनुभयो । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित जनप्रिय मावि, मुस्ताङको जनहित मावि जोमसोम, पारिबेनीकोे न्यू होराइजन आवासीय मावि, पर्वतको ग्रामप्रकाश मावि लेकफाँट, गुरुकुल एकेडेमी कुस्मा, गलकोट एकता आवासीय मावि बागलुङमा उक्त यन्त्र जडान गरिने उहाँको भनाइ थियो ।

बैज्ञानिक सुवेदीका अनुसार मुस्ताङ र म्याग्दीको दुई विद्यालयमा उक्त उपकरण जडान गर्न बाँकी छ । यन्त्र जडानका अवसरमा उक्त विद्यालयका प्रधानध्यापक अर्जुन पौडेलले कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई सो यन्त्रका साथै भूकम्पीय जोखिमबारे शिक्षा दिइने बताउनुभयो । एउटा यन्त्र जडानका लागि रु एक लाख खर्च लाग्छ । रासस

प्रतिक्रिया