रोशी गाउँपालिकाकी उपप्रमूखको इन्धन खर्च टुहुरा र अपांग बालबालिकालाई

admin

धुलिखेल, १५ बैशाख : काभ्रेको रोशी गाउँपालिकाकी उपप्रमूख लक्ष्मी उप्रेती (बर्तौला) ले पालिकाले दिदैँ आएको इन्धन खर्च र आफ्नो लागि गाडी किन्ने रकम नचाहिने बताएकी छिन् ।

आइतबार बसेको चौथो गाउँसभामा उपप्रमूख उप्रेतीले इन्धन खर्च छात्रबृत्तिका रुपमा दिने र आफुलाई पालिकाले किन्ने भनेको गाडी बापतको रकम एम्बुलेन्स खरिद गर्ने प्रस्ताव पेश गरेकी थिइन् । उनको दुवै प्रस्ताव गाउँसभाले अनुमोदन गरेको छ । उनले बार्षिक २ लाख २५ हजार रुपैयाँ इन्धन खर्च बापतको रकम पाउने ब्यवस्था थियो । तर अब यो रकम पालिका भित्रका टुहुरा र अपांग बालबालिकालाई छात्रबृत्ति दिइनेछ ।

रोशी गाउँपालिकामा ६९ वटा विद्यालय रहेका छन् । ती विद्यालयहरु मध्ये कुन विद्यालयमा कति टुहुरा र अपांगता भएका बालबालिका छन् भनेर शिक्षा शाखासँग संख्या मागेको उनले बताइन् । ‘मैले गाउँसभाबाटै अनुमोदन गरेर इन्धन खर्च नलिने भएको छु, उनले भनिन्, त्यो खर्च बापत आउने सबै रकम टुहुरा र अपांगता भएका बालबालिकाको शिक्षामा खर्च गर्नेछु ।’ छात्रबृत्ति बापतको रकम वितरणका लागि छुट्टै मापदण्ड समेत बनाइने उनले बताइन् ।

उपप्रमूख उप्रेतीले आफुलाई निजी गाडी समेत नचाहिने बताएकी छिन् । उनले गाउँपालिकाले आफ्नो लागि किन्ने भनेको गाडी समेत चाहिने बताएकी हुन् । उनको निजी गाडी खरिदका लागि विनियोजन गरिएको रकमले अब २ वटा एम्बुलेन्स खरिद हुने छ ।

प्रतिक्रिया