पार्टी एकीकरणको भावनाअनुसार चल्नुपर्छ : नेता रावल

admin

धनगढी, १५ वैशाख:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले पार्टी एकीकरणको भावनाअनुसार चल्नुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशकाद्वारा आज आयोजित नवनियुक्त जिल्ला अध्यक्ष तथा सचिवको शपथग्रहण कार्यक्रममा नेता रावलले पार्टी अब सामूहिक प्रणालीबाट सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच एकीकरण गर्ने क्रममा अब जिल्ला कमिटीले छिट्टै पूर्णता पाउन लागेको उहाँले जानकारी दिनुभयो । सो पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको शपथग्रहण कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्ट, प्रदेश सहइन्चार्ज लक्ष्मणदत्त जोशीलगायतले पार्टीलाई बलियो बनाएर लैजानुपर्ने बताउनुभयो । 

 

दुई पार्टी एकीकरण गर्ने क्रममा सुदूरपश्चिम प्रदेशका बाजुरा, कैलाली, डोटी, अछाम र बैतडीका अध्यक्ष तत्कालीन नेकपा (एमाले)ले र सचिव तल्कालीन नेकपा (माओवादी) केन्द्रको भागमा परेको छ । यस्तै प्रदेशको कञ्चनपुर, बझाङ, दार्चुला र डडेलधुराको अध्यक्ष तत्कालीन नेकपा (माओवादी केन्द्र)कोे र सचिव तत्कालीन नेकपा (एमाले)को भागमा परेको छ । रासस

प्रतिक्रिया