वाग्मती मुहानमा सुङ्गुर बङ्गुर पालनले प्रदूषण

admin

काठमाडौँ, १५ वैशाख : नागरिकस्तरबाट शुरु भएको वाग्मती सफाइ महाअभियानले ३११ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रको नदी किनार दायाँबायाँ खोलिएका सुङ्गुर बङ्गुर पालनले नदी फोहर गराएको स्थानीयवासीको गुनासो छ ।

वाग्मती सफाइकै काम गर्न दुई दशकअघि स्थापना भएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति भने नदी फोहर गर्ने समूहको मूकदर्शक मात्र बनेको स्थानीय अच्युत पण्डितले बताउनुभयो । मुहान क्षेत्रस्थित वाग्मतीका सहायक नदी जम्बोत्तरी, कागेश्वरी, कोलमतेश्वर, चन्द्रमती, सूर्यमतीलगायत नदी किनारमा सुङ्गुर बङ्गुर पालनले नदीमा प्रदूषण बढाउँदा यहाँका स्थानीय सरकार पनि रमिते बनेका छन् । 

नदी किनारमा फोहर गर्ने उद्देश्यले नै सुङ्गुर एवं बङ्गुर पालन गर्दा पनि यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाले रोकथाम गर्न सकेका छैनन् । फार्ममा मरेका सुङ्गुर बङ्गुरलाई नदीमै फाल्दा दुर्गन्ध फैलने गरेको रमिला पुडासैनीले बताउनुभयो ।  मुहान क्षेत्रको गोकर्णेश्वर महादेव मन्दिरमाथिको वाग्मती र सहायक नदी किनारमै मात्र करीब एक दर्जनभन्दा बढी यस्ता फार्म खुलेका छन् । अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक समितिकी सदस्य माला खरेल चार वर्षअघि गोठाटार पुलबाट माथिको क्षेत्रमा गरिएको अनुसन्धानमा करीब २५ वटा फार्म भेटिएको बताउनुहुन्छ । 

अध्ययनपछि गोकर्णेश्वरमुनिको क्षेत्रका धेरै फार्म हटेको जानकारी पनि उहाँले दिनुभयो । समितिले तत्कालै अध्ययन गरी फार्म हटाउन पहल गर्ने प्रतिबद्धता जनाएको छ । यता चैत अन्तिम सातादेखि नै रोकिएको वाग्मती सौन्दर्यीकरणको काम अझै शुरु हुन सकेको छैन ।  गोठाटार पुल क्षेत्रमा नदीको बहाव कायम गर्दा मुआब्जा नदिएको भन्दै स्थानीयवासीले वाग्मती कोरिडोरमै टहरा हालेर विरोध गरिरहेका छन् । नदीको बहाव कायम गर्दा १८८ रोपनी जग्गा नदीमा परेको वाग्मती पीडित सङ्घर्ष समितिको भनाइ छ ।  रासस

प्रतिक्रिया