भक्तपुर, १५ वैशाख : प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले बिरामीका लागि सरकारले दिएको सुविधाको भरिपूर्ण रुपमा उपयोग गर्न बिरामीलाई आग्रह गर्नुभएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको आज आयोजित १० औँ स्थापना दिवसमा उहाँले सरकारले बिरामीलाई दिएको उपचार खर्च र बीमा सुविधाको बिरामीले उपयोग गर्नुपर्ने बताउनुभयो ।
नेकपाका केन्द्रीय सदस्यसमेत रहनु भएका सांसद बस्नेतले भन्नुभयो, “सरकारले बिरामीका लागि उपचार खर्चदेखि बीमाको समेत व्यवस्था गरेको छ, सरकारले दिएको बीमाको सुविधा र लाभ बिरामीले उपयोग गर्नुपर्छ ।” नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई अब ५० श्ययाबाट बढाएर १०० श्ययामा पु¥याउनुपर्नेमा जोड दिँदै उहाँले भौतिक संरचना थप गर्न आवश्यक बजेट ल्याइदिन आफू तयार रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश ३ का प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठले यो अस्पताललाई गुणस्तर र सेवा विस्तार गर्दै मध्यपुरथिमिको मात्रै नभई देशभरका बिरामी आउने विश्वसनीय अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आगामी वर्ष अस्पताललाई १०० श्ययामा विस्तार गर्ने र नर्सिङ कलेज सञ्चालन गर्नेगरी तयारी गरेको बताउनुभयो । अस्पतालले एकवर्षको अवधिमा निकै लामो फड्को मारेको चर्चा गर्दै उहाँले यो अस्पताललाई सुविधा सम्पन्न, प्रविधि र उपकरणमैत्री, सर्वसुलभ एवं गुणस्तरीय सेवा सञ्चालनलाई अझै मजबुद् बनाएर लैजाने बताउनुभयो ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राम थापामगरले अस्पतालका निर्देशक डा ज्ञानकृष्ण श्रेष्ठलाई अस्पतालमा सातामा एक दिन आउने नभई साताभरी आउने गरी व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले पाटन अस्पतालमा राजीनामा दिएर यही अस्पतालमा पूर्णकालीन काम गर्न वा छाड्न आग्रह गर्दै अस्पताललाई भर्ती केन्द्र बनाएको, ९० जना भन्दा बढी कर्मचारी थप गरेर मनोमानी गरेको, कर्मचारीलाई विभेद गरेको गुनासो गर्दै कार्यपालिकाबाट निर्णय गरेर मात्रै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अस्पतालका निर्देशक डा ज्ञानकृष्ण श्रेष्ठले अस्पतालले यसवर्ष रु दुई करोड ४५ लाख ६६ हजार ९२९ मुनाफा गरेको, अस्पतालले एक वर्षमा करीब एक लाख बिरामीलाई सेवा दिएको बताउनुभयो । नेकपाका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सभापति गणेशमान चक्रधर, काङ्ग्रेस मध्यपुर नगर समिति सभापति सुरेन्द्र श्रेष्ठलगायतले सबै मिलेर गए मात्रै अस्पतालमा सुधार आउने बताउनुभयो । रासस