भद्रपुर, १६ वैशाख : झापाको बुद्धशान्ति गाउँपालिकाले आफ्ना पालिकाका युवालाई स्वरोजगार बनाउने उद्देश्यले प्रशासनिक काम सिकाउन थालेको छ । गाउँपालिकाभित्रका कक्षा १२ उत्तीर्ण गरेका १२ युवालाई लिखित र प्रयोगात्मक परीक्षाका माध्यमद्वारा वैशाख १३ गते छनोट गरी काम सिकाउन थालेको हो । कार्यालयमा १९ जनाको आवेदन परेको थियो ।
कम्प्युटरमा नेपाली तथा अङ्ग्रेजी दुवै भाषा टाइप गर्न सक्ने युवालाई स्थानीय सरकारले सञ्चालन गर्ने योजना तथा कार्यक्रममा दक्ष बनाउने उद्देश्यले मासिक रु छ हजार खाजा खर्च दिएर परिचालन गरिएको पालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताउनुभयो । “तीन महीनासम्म उहाँहरुलाई गाउँपालिका कार्यालय र वडामा आवश्यकताअनुसार योजना, बजेट, अनुगमन तथा मूल्याङ्न पद्धतिका बारेमा सिकाउँछौँ”, अध्यक्ष भुजेल भन्नुहुन्छ, “भविष्यमा अनुभवका आधारमा सरकारी कार्यालयमा जागिर खान र काम गर्न उहाँहरुलाई सजिलो हुनेछ ।”
दिनानुदिन पढे लेखेका युवा वैदेशिक रोजगारमा जाने हुँदा मुलुकमा दक्ष जनशक्ति अभाव हुन नदिन गाउँपालिकाले प्रत्येक तीन तीन महीनामा १२ जनाका दरले काम सिकाउने उद्देश्यले बजेट नै विनियोजन गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष पालिकाले ४० युवालाई लोकसेवाको कक्षा सञ्चालन गरेर तालीम प्रदान गरेको थियो ।
हाल प्रयोगात्मक रुपमा तालीम लिइरहेका १० युवती र दुई युवक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनञ्जयकुमार साहले जानकारी दिनुभयो । उहाँले प्रयोगात्मक तालीमले युवालाई भविष्यमा निजामती सेवामा प्रवेश गर्न लोकसेवा आयोगको परीक्षामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस