काठमाडौँ, १६ वैशाख: यस वर्षको वाग्मती तीर्थयात्रा वैशाख शुक्ल षष्ठी अर्थात् वैशाख २७ गतेदेखि शुरु हुने भएको छ । वैशाख २७ गते बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरी वाग्मती यात्रा शुरु गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कटुवाल दहबाट वाग्द्वारसम्म १८ कोसको दूरीमा हुने यात्राका क्रममा हिमवत्खण्डमा उल्लेख भएका नदी किनारका १६५ तीर्थ स्थानमा स्नान एवं पूजा र दर्शन गरिने कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । यात्रा शुरुआतको सङ्कल्प कोषका सदस्यसचिव ढकालले गर्नुहुनेछ ।
वाग्मती प्रदूषित भएपछि ४० वर्षदेखि रोकिएको यात्रा गत वर्ष कोषको सक्रियतामा पुनः सञ्चालन भएको थियो । यात्रामा गरिनुपर्ने विधिविधानका सबै काम पशुपति आगम घरका पुजारी मदन भट्टले पूरा गर्नुहुनेछ । १७ दिनको यात्रालाई गत वर्ष सात दिनमा झारेर सम्पन्न गरिएको थियो । यस वर्ष भने नौ दिनमा यात्रा गरिनेछ । क्रमशः १७ दिनमै यात्रा गर्ने तयारी कोषको छ ।
पहिलो दिन पशुपतिमा पूजापछि मन्दिर परिक्रमा गरी यात्रा प्रारम्भ हुनेछ । त्यस दिन कार्यविनायकमा दर्शन एवं पूजा गरी कटुवाल दहमा प्रायश्चित्त गोदान, स्वस्ति वाचन गरी १६ तीर्थस्नान, वाग्मती पूजन गरिनेछ । दोस्रो दिन शिखरनारायण, तेस्रो दिन पचलीभैरव, चौथो दिन शङ्खमूल, पाँचौँ दिन पशुपतिनाथ, छैटौँ दिन सुन्दरीजलबाट वाग्द्वारतिरको यात्रा शुरु गरिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
सातौँ दिन वाग्द्वारका सात तीर्थ स्नान गरी बूढानीलकण्ठ नारायणस्थान दर्शन गरी बज्रयोगिनीमा वास बस्ने कार्यक्रम छ । त्यस दिन साँखुका दुई तीर्थ स्नान गरिनेछ । आठौँ दिन साँखुबाट पशुपति आइनेछ । नवौँ दिन आगामी जेठ ४ गते पशुपतिस्थित रुद्रगाडेश्वर मन्दिरमा हवनसहित यात्रा समापन गरिनेछ । यो यात्रा नेमुनिले चलाएको विश्वास गरिन्छ । यस क्रममा विभिन्न स्थानमा वाग्मतीको तन्त्र साधनासमेत गरिने आगम घरका भट्ट मदन भट्टले बताउनुभयो । यात्राले वाग्मती स्वच्छ राख्न जागरण गर्ने विश्वास गरिएको छ ।
लामो समयदेखि रोकिएको यात्रा पुनः सञ्चालनले भावी पुस्तामा वाग्मती तीर्थयात्राको महत्व चेतना जागृत हुने सदस्यसचिव डा ढकालले सुनाउनुभयो । गत वर्षदेखि वाग्मती यात्रा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पनि विशेष चासो दिएको थियो । यस वर्षको यात्रा सञ्चालनका सन्दर्भमा आज सरोकार भएका निकायका अधिकारीबीच बैठक बसी तयारी गर्ने निर्णय भएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । वाग्मती तीर्थ यात्रासँगै पशुपति क्षेत्रका लोप भएका अन्य सांस्कृतिक परम्पराको समेत पुनर्जागरण गर्ने कोषको तयारी छ ।