मृत्यु भएकाे भनिएका आईएसका नाइके अल बग्दादी पाँच वर्षपछि भिडियोमा देखा परे

रिता घिसिंग

काठमाडौँ : पाँच वर्षपछि पहिलो पटक इस्लामिक स्टेट आईएस विद्रोही समूहले उसको नाइके अबु बकर अल बग्दादी बोलेको भिडियो सार्वजनिक गरेपछि अमेरिकाले सो समूहलाई निमिट्यान्न पारिदिने प्रतिबद्धता दोहोर्‍याएको छ।

अमेरिकी अधिकारीहरूले सो भिडियो सन्देशको सत्यताबारे जाँच भइरहेको बताएका छन्। सिरिया र इराकमा उक्त समूहले आफ्नो नियन्त्रणमा रहेको भूभाग गुमाए पनि आईएस विरुद्धको लडाइँ नसिद्धिएको प्रस्ट भएको अमेरिकी विदेश मन्त्रालयले बताएको छ। अल बग्दादी सन् २०१४ देखि सार्वजनिक रूपमा देखा परेका थिएनन् र उनी मारिएको हुन सक्ने अनुमान गरिएको थियो।

सो भिडियोमा अल बग्दादी भनि चिनाइएको व्यक्तिले सिरियामा मारिएकाहरूको बदलास्वरूप आफूहरूले आठ देशमा दर्जनौँ आक्रमण गरेको बताएका छन्।श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनको जिम्मा लिँदै ती व्यक्तिले अझ लामो सङ्घर्ष जारी रहेको बताए। यस अघि सन् २०१४ मा इराकी सहर मोसुलमा क्यालिफेट घोषणा गर्ने क्रममा बग्दादी देखिएका थिए। यसअघि रुस र इराकले हवाई आक्रमणमा अल बग्दादी सम्भवत: मारिइसकेको भनेका थिए।

अमेरिकाले चाहिँ सन् २०१७ मा भएको एक आक्रमणमा उनी गम्भीर घाइते भएको र उनलाई महिनौँसम्म युद्धभूमिबाट पर लगिएको बताएको थियो। तर भिडियोमा स्वस्थजस्तो देखिने बगदादीलाई देखेपछि त्यसले आईएसका समर्थकहरूलाई प्रोत्साहन मिल्न सक्ने डर रहेको गार्डनरले बताएका छन्।

को हुन् अबु बकर अल बग्दादी?
अबु बकर अल-बग्दादीको जन्म सन् १९७१ मा इराकको समारामा भएको हो। बाल्यकालमा उनको रुचि कुरान वाचन र धार्मिक विधानमा भएको बताइन्छ।
इस्लामिक परम्पराको विधिवत् पालना नगरेको भन्दै उनले आफ्नै परिवारका सदस्यहरूको पनि आलोचना गर्ने गरेका थिए।

पछि सद्दाम युनिभर्सिटीमा कुरानसम्बन्धी विषयमा स्नातकोत्तर तथा विद्यावारिधि गर्दै गर्दा उनी कट्टरपन्थी इस्लामिक समूहहरूमा संलग्न भए। सन् २००० को अन्त्यतिर आइपुग्दा उनले सलाफी जिहाद अङ्गीकार गरिसकेका थिए। उनी इराकमा अल काइदामा पनि संलग्न भए। सो समूहबाट इस्लामिक स्टेट लडाकु समूहको उदय भयो। उनी सन् २०१४ देखि सार्वजनिक रूपमा देखा परेका थिएनन्।

किन आईएसबाट अझै खतरा छ?
‍सन् २००३ मा अमेरिकी नेतृत्वले इराकमा गरेको आक्रमणपछि इराकमा अल कायदाबाट छुट्टिएर आईएस बनेको थियो। आईएस सन् २०११ मा सिरियाका राष्ट्रपति बशर अल-असदविरुद्धको विद्रोही समूहसँग संलग्न भएको थियो। सन् २०१४ सम्ममा उसले दुवै देशमा ठूलो भूभाग कब्जा गरी आईएसको इस्लामिक परम्परामा आधारित शासन व्यवस्था “क्यालिफेट” को घोषणा गरेको थियो। इराकी सरकारले सन् २०१७ मा आईएस लडाकुहरूविरुद्ध जितको घोषणा गरेको थियो।

गत मार्च महिनामा आईएस सिरियमा पनि पराजित भएको दाबी गरिएको थियो। तर उक्त समूह पुरै निमिट्यान्न भएको छैन। अमेरिकी अधिकारीहरूका अनुसार आईएससँग १५ हजारदेखि २० हजारसम्म हतियारसहितका समर्थकहरू सो क्षेत्रमा सक्रिय छन्। उनीहरू आफ्नो आधार क्षेत्र पुन: निर्माण गर्ने प्रयासमा ती इलाकामा फेरि फर्किने अमेरिकी अधिकारीहरूको बुझाइ छ। आईएस द्वन्द्वग्रस्त अफगानिस्तानमा पनि सक्रिय छ। उसले एप्रिल २१ मा श्रीलङ्कामा भएका आक्रमणहरू आफूले गराएको दाबी गरेको छ।बीबीसी

प्रतिक्रिया