श्रमजीवी वर्गले प्रतिफल लिने बेला आयो : मुख्यमन्त्री गुरुङ

admin

पोखरा, १८ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको प्रत्येक राजनीतिक आन्दोलनमा मुख्य हिस्सा ओगटेको श्रमजीवी वर्गले प्रतिफल लिने बेला आएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ड) गण्डकी प्रदेश सङ्गठन कमिटीद्वारा १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा उहाँले श्रम गर्नेको अवसरलाई परिणाममा परिणत गर्नका लागि सम्पूर्ण मजदूर एक भएर अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवं प्रदेश इञ्चार्जसमेत रहनुभएका उहाँले तीनै तहका सरकार मजदूर र उत्पादनसँग जोडिने कानून निर्माणको चरणमा रहेको बताउनुभयो । हिमाल, पहाड र तराईको सङ्गमस्थलका रुपमा रहेको गण्डकी प्रदेशलाई मुलुकका सात वटा प्रदेश मध्यय सर्वोत्कृष्ट बनाउने अभियानमा जुटेको बताउँदै उहाँले त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । गण्डकी प्रदेशलाई बालश्रममुक्त प्रदेश घोषणा गर्ने अभियानमा जुटेको उल्लेख गर्दै उहाँले मजदूर क्षेत्रबाट आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाला कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका अध्यक्ष हीतराज पाण्डेले बोलेरभन्दा काम गरेर जनताको मन जित्न सकिने धारणा राख्दै ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । नेकपा केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले संवैधानिक व्यवस्थाअनुसार ऐन कानून कार्यान्वयन गरिने गर्दै अगाडि बढ्नुपर्ने आजको आवश्यकता आँैल्याउँदै केन्द्रिकृत मानसिकता परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा जिल्ला कमिटी अध्यक्ष कृष्ण थापाले विश्व आन्दोलनमा मजदूर वर्गको बलिदान ऐतिहासिक रहेको उल्लेख गर्नुभयो । जिफण्डका केन्द्रीय उपाध्यक्ष रमेश वडालले मुलुकमा २०४६ सालदेखि यता मजदूरका हक अधिकारका क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको बताउँदै सामाजिक सुरक्षा प्रणालीमा जानुको विकल्प नरहेको बताउनुभयो । जिफण्ड गण्डकीका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नन्दलाल अधिकारीलगायतले नेपाल सरकारले तोकेको पारिश्रमिक लागू गर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया