एकता घोषणाले नेकपाभित्र ज्वाला

admin

काठमाडौँ,  वैशाख १९: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद फेरि एक पटक उचाइँ छुने अवस्थामा पुगेको छ । यूनाइटेड पोस्ट दैनिकले समाचार छापेको छ । गत वैशाख ९ गते नेकपाले जिल्ला तहको एकीकरण टुंगो लागेको घोषणा गरेको थियो । एकता घोषणा गरेपनि नेताहरू धमाधम राजीनामा दिइरहेका छन् ।

केन्द्रीय सदस्यहरूलाई आफूभन्दा जुनियर जिल्ला अध्यक्षको मातहतमा राखेपछि नेकपाभित्र विद्रोह भएको हो । झण्डै एक वर्षसम्म पनि एकता प्रक्रिया नटुंगिएपछि केन्द्रीय सचिवालयबाट नेकपाको जिल्ला तह टुंगो लगाइएको हो । तर, केन्द्रीय सचिवालयले टुंगो लगाएको निर्णय मान्न जिल्ला तहका नेताहरू अनिच्छुक देखिएका छन् ।

सार्वजनिक अभिव्यक्तिबाटै अस्वीकारको निर्णय गरेका जिल्ला तहका नेताहरुले शपथ समारोह समेत बहिष्कार गर्न थालेका छन् । केन्द्रीय सचिवालयले नामावली टुंगो लगाएपछि सुदूरपश्चिम प्रदेशले शपथको कार्यक्रम राखेकोमा पदाधिकारीबाट बहिष्कार भएको छ । शपथ बहिष्कार गर्नेमा तत्कालीन एमालेका नेताहरू छन् । सूदुरपश्चिमका डडेलधुरा, बझाङ र दार्चुलामा तत्कालीन माओवादी नेतृत्व एमालेले अस्वीकार गरेको हो । डडेलधुरा एमालेका तत्कालीन जिल्ला नेता भन्छन्–‘अपमानपूर्वक पदीय जिम्मेवारी घोषणा गरिएकाले शपथ बहिष्कार गरिएको हो ।’

तत्कालीन एमालेका डडेल्धुरा अध्यक्ष डा. तारादत्त जोशी, बझाङका अध्यक्ष दिलबहदुर सिंह र दार्चुलाका अध्यक्ष रामदत्त जोशीले शपथ बहिष्कार गरेका छन् ।प्रज्ञा भवन कमलादीबाट घोषणा गरिएको नामावलीमा डडेलधुराको अध्यक्ष मानसिंह माल, बझाङको अध्यक्ष मीनबहादुर कुँवर र दार्चुलाको अध्यक्षमा गणेशसिंह खत्री छन् । तीन जना तत्कालीन माओवादी केन्द्रका अध्यक्ष हुन् । सर्लाही जिल्लामा पनि विद्रोह भएको छ । नेकपाका केन्द्रीय सदस्यलाई सचिव बनाएपछि विद्रोह भएको हो ।

बहिष्कार गर्ने क्रम अन्यतिर पनि भएको तत्कालीन एमालेका एक केन्द्रीय सदस्य बताउँछन् । अन्य प्रदेशमा पनि शपथका बेला बहिष्कार गर्ने संभावना धेरै छ ।ती नेता भन्छन्–‘तल मिलिसकेको नामावली उल्ट्याएर अपमान हुनेगरी जिम्मेवारी दिएकाले बहिष्कारको अवस्था आएको हो ।’ नेकपा नेतृत्वले भने दिइएको पदबाट बहिष्कार नस्वीकार्ने बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू