सार्कका अर्थमन्त्रीहरूको बैठक फिजीमा

admin

काठमाडौँ, १९ वैशाख : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका अर्थमन्त्रीहरूको १३ औँ अनौपचारिक बैठक आज फिजीको नादीमा सम्पन्न भएको छ । एशियाली विकास बैङ्क (एडिबी)को ५२ औँ वार्षिक बैठकको सिलसिलामा त्यहाँ एकत्रित हुनुभएका सार्कका अर्थमन्त्रीहरूले दक्षिण एशियालाई गरीबीबाट मुक्त पार्न सार्क क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।

बैठकका अध्यक्ष अर्थमन्त्री युवराज खतिवडाले दक्षिण एशियाको आर्थिक विकासमार्फत जनताको कल्याण र समृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको बताउनुभयो । अर्थ मन्त्रालयका अनुसार दक्षिण एशिया विश्व आर्थिक वृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार प्रभाव जमाउँदै गएको भए पनि अन्तरदेशीय सडक सञ्जाल र अन्तर आबद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापारको हिस्सा तीनगुणा सम्म बढाउन सकिने संभावना भए पनि पाँच प्रतिशतभन्दा माथि पुग्न नसकेको अर्थमन्त्रीले बताउनुभयो ।

दक्षिण एसियाको समग्र अर्थिक स्थायित्वको चर्चा गर्दै उहाँले लगातार तेस्रो वर्ष पनि नेपालले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि गरेको जानकारी दिनुभयो । वित्तीय समावेसिता विषयमा भएको उक्त बैठकमा सार्कका महासचिव अहमद हुसेन बि सियालले सार्क बडापत्रबमोजिम दक्षिण एशियाका जनताको जीवनस्तर उठाउने तथा समृद्ध दक्षिण एशिया निर्माण गर्नु सार्कको उद्देश्य भएको बताउनुभयो । उहाँले दक्षिण एशियामा लघुवित्त र लघु उद्यमको प्रचुर विकास भए पनि निर्धन जनताको जीवनमा त्यसले खासै परिवर्तन अनुभूत नगराएको बताउनुभयो । रासस

प्रतिक्रिया