रसुवागढी र साञ्जेनको शेयर बाँडफाँट

admin

काठमाडौँ, १९ वैशाख : रसुवागढी हाइड्रो पावर लिमिटेड र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरको बाँडफाँट गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको बाँडफाँटअनुसार रसुवागढीमा आवेदन गर्ने सबैले ४० कित्ता शेयर पाएका छन् । यस्तै साञ्जेन जलविद्युत् कम्पनीको शेयरमा आवेदन गर्ने सबैले २० कित्ता शेयर पाएका छन् ।

रसुवागढीमा आवेदन गर्ने लगानीकर्ताले अधिकतम ५० सम्म शेयर पाएका छन् भने ४० कित्तासम्म माग गर्ने आवेदकले मागअनुसार नै शेयर पाएका छन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कूल ४० कित्ताभन्दा बढी शेयर माग गर्ने आवेदकलाई समान ४० कित्ताका दरले शेयर बाँडफाँड गरिएको हो । त्यसरी बाँडफाँड गर्दा बाँकी रहेको दुई लाख ३६ हजार ९३० कित्ता शेयर गोलाप्रथा गरी २३ हजार ६९३ जनालाई थप १० कित्ता गरी कूल ५० कित्ता शेयर दिइएको छ ।

थप सात जनाले एक÷एक कित्ता गरी कूल ५१ कित्ता शेयर पाएका छन् । रसुवागढी हाइड्रोपावर कम्पनीको साधारण शेयरमा रु एक अर्ब ७१ करोड ७० हजार बराबरको एक करोड ७१ लाख ७ हजार ८४० कित्ता शेयर माग भएको थियो । कूल तीन लाख दुई हजार ३४३ ले आवेदन गरेका थिए ।

यस्तै ११ हजार ७१ वटा आवेदन भने रद्द गरिएको छ । रद्द गरिएको आवेदनबाट मात्रै नौ लाख ८७ हजार ३७० कित्ता शेयरको माग गरिएको थियो । कूल माग मध्ये दुई लाख ९१ हजार २७२ वटा आवेदनबाट एक करोड ६१ लाख २० हजार ४७० कित्ताको माग मात्रै सदर भएको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रव तिम्सिनाले जानकारी दिनुभयो ।

कम्पनीले कूल चुक्ता पूँजीको १५ प्रतिशत बराबरको साधारण शेयर बिक्री गरेको थियो । त्यसमध्ये सर्वसाधारणलाई ९३ लाख ३९ हजार ४६७ कित्ता यस्तै चार लाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारी तथा पाँच लाख १३ हजार १५७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । यस्तै साञ्जेन जलविद्युत् कम्पनीको शेयरमा आवेदन गर्ने सबैले २० कित्ता शेयर पाएका छन् । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार कूल तीन लाख ५९७ बराबरको आवेदनमध्ये दुई लाख ८८ हजार ८९७ जनाको मात्रै स्वीकृत गरिएको थियो ।

कूल एक करोड २९ लाख ९६ हजार २२० बराबरको शेयर स्वीकृत भएको थियो । कम्पनीले यही वैशाख १२ गतेसम्म शेयर बिक्री गरेको थियो । कम्पनीले ५४ लाख ७५ हजार कित्ता शेयर बिक्रीका लागि खुला गरेको थियो । शेयर बाँडफाँट समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सबै नेपाली नागरिकलाई शेयरधनी बनाउने अभियानले सार्थकता पाउँदै गएको बताउनुभयो । उहाँले क्रमशः जनताको जलविद्युत् आयोजनामा समावेश भएका अन्य आयोजनाको पनि क्रमैसँग साधारण शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने र धेरै भन्दा धेरैलाई सहभागी गराई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने बताउनुभयो ।

जनताको जलविद्युत् कार्यक्रममा प्रधानमन्त्री, सभामुखलगायतले सहभागिता जनाई थप प्रभावकारी बनाइदिनुभएको जानकारी दिँदै मन्त्री पुनले सबै नेपालीसँग रहेको सानो सानो पूँजी संकलन गरेर भए पनि लगानी जुटाउन लागिएको बताउनुभयो । रासस

प्रतिक्रिया