प्रेस स्वतन्त्रता सुनिश्चित गर्न आग्रह

admin

काठमाडौँ, १९ वैशाख : एम्नेस्टी इन्टरनेशनल नेपालले सरकारलाई कानून र अभ्यास दुवैमा प्रेस स्वतन्त्रता सुनिश्चित गर्न आग्रह गरेको छ ।  एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले आज जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रताको संवैधानिक प्रत्याभूति गरेअनुसार सुनिश्चित गर्न आग्रह गरिएको छ । 

छब्बीसौँ विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा रिपोर्टर्स विदाउट बोर्डर्सले अभिलेख गरेको विश्व प्रेस स्वतन्त्रता सूचीअनुसार नेपाल १००औँ स्थानबाट १०६ स्थानमा ओरालो झरेको कठोर वास्तविकतालाई स्मरण गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

नेपाल पत्रकार महासङ्घका अनुसार सन् १९९६ देखि अहिलेसम्म ३६ जना पत्रकारको हत्या भएको छ भने सन् २००६ मा विद्युतीय कारोवार ऐन लागू भएदेखि दर्जनौँ पत्रकार र सम्पादकलाई पक्राउ गर्ने, हिरासतमा राख्ने र जरिवाना तिराउने जस्ता कार्य भएका छन् । महासङ्घले पछिल्लो एक वर्षमा मात्रै ६० वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएको जनाएकोे एम्नेस्टीले उल्लेख गरेको छ ।   

राज्यले प्रेस स्वतन्त्रतासम्बन्धी आफ्नो संवैधानिक प्रतिज्ञाप्रति अटल आस्था र समर्थन जनाउनुपर्ने र नेपालमा विद्यमान प्रेस स्वतन्त्रताको अँध्यारो अवस्थामा सुधार ल्याई स्वतन्त्र, निष्पक्ष र वास्तविक लोकतान्त्रिक समाजलाई सुदृढ बनाउन एम्नेस्टीले आग्रह गरेको छ । रासस

प्रतिक्रिया