ओडिशाको पुरी तटसँग ठोक्कियो फानी चक्रवात : ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो, नेपालमा कस्तो असर ?

रिता घिसिंग

काठमाडौँ : बंगालको खाडीमा बनेको चक्रवाती आँधी फानी ओडिशाको पुरी तटसँग ठोक्किइसकेको छ । यहाँ १७५ देखि १८० किलोमिटरको गतीमा हावा चलिरहेको छ । यसको असर बिहान ११ बजेसम्म रहने अनुमान छ ।

मौसम विभागका अनुसार यो बंगाल हुँदै बंगलादेशतर्फ बढ्नेछ त्यसकारण पश्चिम बंगलाको तटवर्ती इलाकामा पनि चेतावनी जारी गरिएको छ । ओडिशामा सावधानीको रुपमा १५ जिल्लाका ११ लाख व्यक्तिलाई सुरक्षित स्थानमा पुर्याइएको छ । यो २० वर्षमा ओडिशासँग ठोक्किने सबैभन्दा खतरनाक आँधी हो ।

तटरक्षक बलले ट्वीट गर्दै चक्रवाती आँधी फानीको प्रभावको पूर्वानुमान गर्दै ३४ राहत दल र चार तटरक्षक पोतलाई राहत कार्यका लागि तैनाथ गरिएको छ । नौसेनाका प्रवक्ता क्याप्छेन डिके शर्माले दिल्लीमा आयोजित एक कार्यक्रममा भने, ‘भारतीय नौसेनाका पोत सहयाद्री, रणवीर र कदमतलाई राहत सामग्री तथा चिकित्सा दलसँग तैनाथ गरिएको छ जसले चक्रवात तटीय इलाकामा ठोक्किने बित्तकै राहत कार्य सुरु गर्नेछन् ।

चक्रवातले ओडिशाका १४ जिल्ला प्रभावित हुनेछन्ः

चक्रवात ओडिशापछि पश्चिम बंगालतर्फ यात्रा गर्नेछ । यसको असर आन्ध्रप्रेदश र तमिलनाडुको उत्तर–पूर्व इलाकामा पनि देखिनेछ । चक्रवातले ओडिशाका १४ जिल्ला प्रभावित हुनेछन् । यसमा पुरी, जगतसिंहपुर, केन्द्रपारा, बालासोर, भदरक, गंजम, खुर्दा, जाजपुर, नयागढ, कटक, गाजापटी, मयुरभंज, ढेंकानाल र कियोंझार संलग्न छन् । यो जिल्लाका करिब १० हजार गाउँ चक्रवातबाट प्रभावित हुनेछन् ।

यो आँधी पश्चिम बंगालतर्फ बढ्नेछ, यस्तोमा यहाँ दिघा, मदारमणी, शंकरपुर, ताजपुर र अन्य पर्यटन स्थलबाट पर्यटकलाई निकालिँदैछ ।

मौसम विभागले फानीको ‘फर्स्ट आर्म’ तटसँग ठोक्किएपछि अत्यधिक सावधानी अपनाउनुपर्ने चेतावनी दिएको छ । साइक्लोन वार्निङ डिभिजनका प्रमुख मत्युंजय मोहपात्राका अनुसार चक्रवाती आँधीको एरिया (केन्द्र) करिब ३०–४० किलोमिटरको हुन्छ । यसको चारैतर्फको एरियालाई आर्म भनिन्छ । तटसँग ठोक्किएर अघि बढेपछि मानिसहरु एकप्रकारले ढुक्क हुने गर्छन् । तर यो अघि बढेपछि पनि अर्को आर्म पनि आउँछ जुन पहिलेको भन्दा विनाशकारी हुनसक्छ ।

ओडिशासँग ठोक्किने फानी २० वर्षकै सबैभन्दा खतराः

जोइन्ट टाइफून वार्निङ सेन्टर (जेडब्ल्यूटीसी) का अनुसार फानी पछिल्लो २० वर्षमा अहिलेसम्मको सबैभन्दा खतरनाक चक्रवात साबित हुनसक्छ । ओडिशामा सन् १९९९ मा आएको साइक्लोनबाट करिब १० हजार मारिएका थिए । भारतीय मौसम विभाग सूत्रका अनुसार पछिल्लो ४३ वर्षमा यो पहिलो घटना हो जब अप्रिलमा भारतको समुन्द्री क्षेत्रमा कुनै चक्रवाती आँधी आएको हो । क्षेत्रीय मौसम विभागका पूर्व निर्देशक शरत साहूका अनुसार ओडिशामा सन् १८९३, १९१४, १९१७, १९८२ र १९८९ को गर्मीमा पनि आँधी आएको थियो । तर यसपटकको चक्रवात बंगालको खाडी तात्तिएका कारण बनेको हो त्यसकारण यो थप खतरनाक हुनसक्छ ।

नेपालमा कस्तो छ असर ?
फानी चक्रावत नेपालमा आउने सम्भावना नभएपनि यसको असर भने देखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । फानीको प्रभावका कारण शुक्रबार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुनसक्ने महाशाखाले बताएको छ ।

शुक्रबार पश्चिमी वायु पनि सक्रिय हुने देखिएकाले समुद्री आँधी फानी र पश्चिमी वायुका कारण देशैभरी वर्षा हुने अनुमान गरिएको जानकारीमा उल्लेख छ ।
महाशाखाले हिमाली भेगमा हिमपातसमेत हुने सम्भावना देखाएको छ । फानी र पश्चिमी वायुको प्रभाव शनिबारपछि कमजोर हुने र आइतबारदेखि मौसम सफा हुने मौसम महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया