काठमाडौँ, २० वैशाख : सडकको दूरावस्था र सवारीको प्रतिष्पर्धाका कारण भएका सडक दुर्घटनामा २५ बढी घाइते भएका छन् भने तीनको अवस्था गम्भीर छ । कागेश्वरी मनोहरा नगरपालिकाको आलापोटबाट आज रत्नपार्कतर्फ आइरहेको गणेशभैरव साँखु यातायातको बा ४ ख ५९३२ नंं को यात्रुवाहक बस काठमाडौँ महानगरपालिका–६ स्थित टुसालचोकमा पल्टिँदा २० घाइते भएका महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
घाइतेमध्ये १७ वर्षीय अभिषेक पाठकको अवस्था गम्भीर छ । उनको हेल्पिङ ह्याण्ड अस्पताल चाबहिलमा उपचार भइरहेको छ । घाइतेको ओम, मेडिकेयरलगायत अस्पतालमा उपचार भइरहेको छ । अर्को सवारीलाई उछिन्न खोज्दा बस पल्टिएको प्रत्यक्षदर्शीसँगको कुराकानी, प्रारम्भिक अवलोकन एवं अध्ययनपछि देखिएको वृत्तका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । दुर्घटना भएको स्थलभन्दा अघि सडकमा खाडल भएकाले चालकले एक्कासि ब्रेक लगाउँदा बस सडकमा पल्टिएको बसमा यात्रा गरिरहेका श्याम पुडासैनीले बताउनुभयो । क्षमताभन्दा बढी यात्रु राख्दा पनि ट्राफिक प्रहरीले कारवाही नगर्ने गरेको यात्रुको गुनासो छ ।
राजधानीको उत्तरपूर्वी मार्गमा अनुमति लिएका सवारी मन लागे चलाउने मन नलागे नचलाउने गरेकाले कोच्चिएर यात्रा गर्न यात्रु बाध्य छन् । मार्गमा अनुमति लिएका सवारी चले नचलेको अनुगमन गर्ने कुनै संयन्त्र छैन । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा यातायात निरीक्षकको व्यवस्था भए पनि अझै कार्यान्वयनमा आउन सकेको छैन । केही वर्षअघि टेकुमा स्थापना भएको भेहिकल फिटनेस सेन्टरमा अझै यान्त्रिक संयन्त्रबाट परीक्षण हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक कुमार दाहालले यातायात दुर्घटनालगायत समस्या समाधानका लागि प्रयास जारी राखेको बताउनुभयो ।
अस्वस्थ प्रतिष्पर्धाका कारण दुई छात्रा गम्भीर
यसैगरी सुन्दरीजलबाट रत्नपार्कतर्फ आइरहेको बा ३ ख ६२३ र गागलफेदी–आलापोट–सुन्दरीजल हुँदै रत्नपार्क आइरहेको बा ३ ख ६१७२ नं बसबीच प्रतिष्पर्धा हुँदा तीव्र गतिका कारण ६२३ नं सवारीका पाँच यात्रु घाइते भएका छन् । ठूलो खाडलमा आकस्मिक ब्रेक लगाउँदा सिलिङमा ठोक्किएर यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका शङ्करापुर नर्सिङ क्याम्पसमा अध्ययनरत छात्राद्वय सजिना पण्डित र सुरजी पण्डितको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । सजिनाको टाउकोमा चोट लागेको छ । दुर्घटनालगत्तै बेहोस भएपछि सजिना बेहोस भएको यात्रु सविना कार्कीले बताउनुभयो । सुरजीको घुँडामा चोट लागेको छ । धेरै यात्रुको घुँडा र टाउकोमा चोट लागेको छ ।
चाबहिलबाट सुन्दरीजल र साँखुतर्फको सडक ठेक्का लागेको पाँच वर्ष हुँदा पनि विस्तार एवं कालोपत्र हुन सकेको छैन । सो सडकमा मोटरसाइकल र स्कुटीजस्ता साधन दैनिकजसो नै दुर्घटनामा पर्ने गरेका छन् । रासस