अक्षय कुमारको नागरिकताको बिषयमा विवाद चर्किएपछि आलोचकलाई दिए यस्तो सफाइ

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता अक्षय कुमारको नागरिकतालाई लिएर पछिल्लो समय प्रश्न उठिरहेको थियो । भारतमा जारी संसदीय निर्वाचनमा मतदान नगरेपछि उनीमाथि प्रश्न उठ्न थालेका थिए । हालै पत्रकारले लोक–सभा निर्वाचनमा मतदान नगर्नुको कारण सोध्दा अक्षय कुमार जवाफ पन्छाउन खोजिरहेका देखिन्छन् । सो सम्बादको भिडियो हाल भारतीय समाजिक संजाल प्रयोगकर्तामाझ व्यापक ट्रोल भइरहेको छ । मतदान नगर्नुको कारणमा विवाद बढ्दै गएपछि बलिउड अभिनेता रहेका उनले स्पष्टिकरण जस्तो ट्वीट गरेका छन् ।

ट्वीटमा अक्षय कुमारले लेखेका छन्, “मेरो नागरिकतामाथि यति धेरै रुची लिदैँ नकारात्मकता किन फैलाईंदैछ भनेर मलाई थाहा छैन । मसँग क्यानडाको पासपोर्ट छ भनेर मैले कहिले लुकाइन ।” अक्षयले थप लेखेका छन्, “तर फेरि विगत ७ वर्षमा म क्यानडा नगएको पनि साँचो हो । म भारतमा काम गर्छु र म भारतमै कर तिर्छु । यी वर्षहरुमा मैले कहिले पनि भारतप्रतिको मेरो प्रेमलाई प्रमाणित गर्नु परेको थिएन । मेरो नागरिकताको मुद्दालाई अनावश्यक विवादमा तानिदाँ मलाई नराम्रो लागेको छ ।”

केही दिन पहिले अक्षय कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ६७ मिनेट लामो अन्तरवार्ता लिएका थिए । निर्वाचनको अवधिमा चुनावी प्रचार हुने खालको कुनै राजनीतिक अन्तरवार्ता दिन नपाउने आचारसंहिता भए पनि मोदी र अक्षय गैर–राजनीकि विषयमा कुरा गरेको भन्दै गफिएका थिए । अन्तरवार्तालाई लिएर भारतीय समाजिक संजाल प्रयोगकर्ता पक्ष विपक्षमा बाँडिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू