लक्ष्मी मृत्यु प्रकरण : लक्ष्मीलाई सासुले नै मर्न बाध्य बनाएको भन्दै छिमेकीले गरे यस्तो खुलासा (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीको मृत्यु सासुले नै मर्न बाध्य बनाएको छिमेकीले खुलासा गरेका छन्। ‘मलाई सासुले दैनिक पिट्छिन् भन्दै आएकी थिइन, मैले मिटिङ बसेर वडामा उजुरी दिनुपर्छ भनेकी थिएँ’, स्थानीय सत्यवती आमा समूहकी अध्यक्ष कल्पना पौडेलले भनिन्। लक्ष्मीले वर्षाैदेखि सासुको हिंसा खेप्नु परेको उनले बताइन्।

बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्री शुक्रबार बिहान घरको दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। उनि मृत्युको अघिल्लो बिहान सासुबाट कुटिएर घाइते भएकी थिइन्। बिहीबार मात्रै सासुको कुटाईबाट घाइते भएकी लक्ष्मीले स्थानीय मेडिकलमा उपचार गराएकी थिइन्। उनको आँखामा निलडाम रहेको छिमेकीले बताएका छन्। बिहीबार दिउँसो नै उनले स्थानीय सिर्जनशील आमा समूहका पदाधिकारीलाई भेटेर न्याय दिन माग गर्दै बैठक बस्न आग्रह गरेकी थिइन।

मृत्युको अघिल्लो साँझ लक्ष्मीले फेसबुकमा आफ्ना पति अमृत खत्रीलाई ट्याग गर्दै ‘कतिबेला हुन्छ शरीरको हत्या के थाहा’ भन्ने स्टाटस लेखेकी छन्। तर त्यो स्टाटस अहिले डिलिट गरिएको छ। माइती पक्षले नन्द वा श्रीमानले हटाएको हुनसक्ने बताएका छन्।

अर्घाखाँची गोखुङ्गा माइत भएकी लक्ष्मीको बिहे सात वर्षअघि भएको थियो। उनकी ६ वर्षकी छोरी छन्। श्रीमान रोजगारीका लागि दुबई आउनेजाने गर्छन्।स्थानीयले सासुकै यातनाका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै कारबाहीको माग गरेका छन्। प्रहरीले अनुसन्धानका लागि सासुलाई नियन्त्रणमा लिएको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया