आठ महीनादेखि क्याम्पसमा आन्दोलन

रिता घिसिंग

नवलपरासी, २६ वैशाख : पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेको एक मात्र त्रिभुवन क्याम्पस बेलाटारी यतिबेला अलपत्र परेको छ । क्याम्पसमा लामो समयदेखि वैधानिक सञ्चालक समितिसमेत नहुनु र क्याम्पसप्रमुखले समेत राजीनामा दिएपछि क्याम्पस यतिबेला अलपत्र परेको हो ।

अहिले चार महीनादेखि शिक्षकले पारिश्रमिक पाएका छैनन् भने आठ महीनादेखि विद्यार्थीको निरन्तर आन्दोलन जारी छ । क्याम्पसमा क्याम्पसप्रमुख नहुनु र सञ्चालक समितिको वैधानिकता नहँुदा खाता सञ्चालन नभएर कार्यरत प्राध्यापकहरुले तलब पाएका छैनन् ।

यसैगरी शुल्क बढाएको विरोधमा अध्ययनरत विद्यार्थीहरुले आठ महीनादेखि विभिन्न चरणको आन्दोलन जारी राखेका छन् । क्याम्पसमा लामो समयसम्म प्रमुख नहुनु र व्यवस्थापन पक्ष पनि जिम्मेवार नबन्दा क्याम्पसमा अध्ययरत विद्यार्थीहरुको भविष्यसमेत अन्योलामा परेको क्याम्पसमा बिबिएस चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी महेश गुप्ता बताउनुहुन्छ ।

क्याम्पसप्रमुख मुक्तिनाथ पाण्डेले क्याम्पसबाटै राजीनामा दिए पनि क्याम्पसमा लामो समयसम्म क्याम्पसप्रमुख नियुक्त हुन नसक्नु र अवधि सकिएको सञ्चालक समितिको वैधानिकता नहुँदा क्याम्पसको अवस्था अहिले अन्योलमा छ । पछिल्लो समय क्याम्पसको अवस्था बिजोग बन्दै गएकाले सबै पक्षको सहमतिका आधारमा समस्या समाधान हुनुपर्ने प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा बताउनुहुन्छ ।

विसं २०६१ मा स्थापना भएको सो क्याम्पस पश्चिम नवलपरासीको विशेषगरी ग्रामीण क्षेत्रमा पर्ने प्रतापपुर र सुस्ता गाउँपालिकाका विद्यार्थीलाई स्नातक तहको अध्ययन गर्ने एउटा मात्र क्याम्पसका रुपमा रहिआएको छ । क्याम्पस पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रको एउटा नमूना शैक्षिक गहना भएकाले तत्काल समस्या समाधान हुनुपर्ने प्रदेशसभा सदस्य अजय शाही बताउनुहुन्छ ।

विद्यार्थीले तत्काल समस्या समाधान गर्न सबै सरोकारवालासँग माग गरेका छन् । शिक्षकहरुले पनि पारिश्रमिक पाउनुपर्ने माग राखेका छन् । लामो समयदेखि क्याम्पसमा नियमित पढाइ भएको छैन । शिक्षकले तलब पाएका छैन । यी समस्या समाधान गर्न सबै जिम्मेवारी बन्नुपर्ने सङ्घीय सांसद हृदयेश त्रिपाठी बताउनुहुन्छ ।

हाल ३०० विद्यार्थी अध्ययरत यस क्याम्पसमा स्नातकसम्मको अध्ययन अध्यापन हुने गर्दछ । यस क्याम्पसमा हाल २७ जना शिक्षक कार्यरत छन् ।रासस

प्रतिक्रिया