श्रीमतीले भाउजुसंग आपत्तिजनक अवस्थामा देखेपछि श्रीमानले जिउँदै जलाए आफ्नै श्रीमती

रिता घिसिंग

काठमाडौँ : आफ्नै श्रीमतीलाई जिउँदै आगो लगाएर भागेका मुकेश यादवको भाउजुसँग अवैध सम्बन्ध रहेको खुलासा भएको छ। धनुषाको शहीदनगर नगरपालिका १ चिरैयाका मुकेश यादवले वैशाख ५ मा २२ बर्षीया पत्नी निर्मलादेवीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । निर्मलाको उपचारका क्रममा १६ गते मृत्यु भयो ।

 

घटनालगत्तै फरार भएका मुकेशलाई प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक बयानमा मुकेशले भाउजुसँगको सम्बन्धका कारण पत्नीलाई जिउँदै जलाएको स्वीकार गरेका छन् । मुकेशको बयानपछि प्रहरीले उनका भाउजु श्यामादेवीलाई पनि पक्राउ गरेको छ ।

मुकेशका दाजु लामो समयदेखि रोजगारीको सिलसिलामा विदेश गएका थिए । यता मुकेश र उनकी भाउजु श्यामादेवीबीच अवैध सम्बन्ध रह्यो। मुकेशले फागुनमा कमला नगरपालिका–५ की निर्मलासँग बिह गरे, करिव ५ महिनाअघि मुकेश दाइ नागे यादव फर्किए । तर, देवर–भाउजुको सम्बन्ध कायमै रह्यो । एक दिन निर्मलाले दुबैलाई आपत्तिजनक अवस्थामा देखेपछि श्रीमान् श्रीमतीबीच विवाद सुरु भयो । उही विषयलाई लिएर मुकेश र निर्मलाबीच झगडा पर्थ्यो ।
तर, नागेले भाइ मुकेश र श्यामादेवीको सम्बन्धबारे थाहा पाएनन् ।

घटना भएको दिन पनि निर्मला र मुकेशकाबीच झगडा भएको थियो । मुकेश ‘तेरो सबै लुगा जलाइदिन्छु’ भन्दै धम्की दिएर पेट्रोल लिन निस्किएका थिए । घरनजिकै उनको भाउजु श्यामादेवीकै पसल थियो, जहाँ उनले पानीको बोतलमा पेट्रोल बेच्दै आएकी थिइन् ।

मुकेश पेट्रोल लिन पुग्दा भाउजुले किन चाहियो भनेर सोधिखोजी गरिन् । मुकेशले निर्मलाको सबै कपडा जलाइदिन्छु भनेका रहेछन् । तर श्यामादेवीले ‘किन लुगा मात्रै, उसैलाई जलाइदेउ, त्यसपछि भागेर विवाह गरौंला’ भनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसअनुसार मुकेशले निर्मलालाई जिउँदै जलाए ।

श्रीमतीलाई आगो लगाएर भाग्दै गर्दा आइपुगेका नागेले मुकेशको टाउकोमा रडले प्रहार गरेको देखिएको धनुषाका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए । तर, उनी भाग्न सफल भए । प्रहरीले मुकेशलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया