बन्द जुम्ला विमानस्थल सञ्चालनमा

admin

खलङ्गा, २६ वैशाख : वैशाखदेखि बन्द रहेको जुम्ला विमानस्थाल आजदेखि सञ्चालनमा आएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि बन्द भएको विमानस्थल आजदेखि नियमित सञ्चालन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माले बताउनुभयो । बाँकी रहेको स्तरोन्नतिको काम समयमै सकिएकाले आजदेखि विमानस्थल सञ्चालनमा आएको उहाँको भनाइ थियो । विमानस्थल सञ्चालन पहिलो दिन समिट एयरको जहाजले उडान ग¥यो ।

विमानस्थल धावनमार्गको काम सम्पूर्ण सकिएको र पार्किङको काम भने बाँकी रहेको शर्माले जानकारी दिनुभयो । पार्किङको काम बाँकी रहे पनि खासै जहाज अवतरणमा समस्या नहुने बताइएको छ । पार्किङको बाँकी स्तरोन्नति काम भइरहनेछ । विमानस्थलको स्तरोन्नति कार्यलाई छिटो सकाउन २० दिनका लागि विमानस्थल नै बन्द गरिएको थियो ।

पार्किङकतर्फ स्तरोन्तिका लागि चाहिने निर्माण सामग्री आउन नसकेकाले स्तरोन्नति कार्यमा ढिलाइ हुने बताइएको छ । ६७५ मिटर धावनमार्गको कालोपत्रको काम सकिएको हो । बाँकी पार्किङको काम जहाज चलाउँदै कालोपत्र गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा झण्डै ३९० मिटर धावनमार्ग कालोपत्र भइसकेको थियो ।

बाँकी २८० मिटर धावनमार्ग कालोपत्रको काम यो अवधिमा सकिएको हो । एपेक्स पृथ्वी र अमित जेभीले विमानस्थल मर्मतको जिम्मा पाएका थिए । धावनमार्ग मर्मतका लागि चाहिने सबै सामग्री उपलब्ध भइसकेकाले मर्मतको काम छिटो भएको हो । विमानस्थल २० दिनसम्म बन्द भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई सेवा बन्द भएको थियो ।

विसं २०४० देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन । विमानस्थलको कालोपत्र उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो । विमानस्थलका लागि रु चार करोड ५२ लाख रकम विनियोजन भएको शर्माले जानकारी दिनुभयो । अब मौसका कारणबाहेक अरु कुनै कारणले उडान कार्यमा अवरोध नहुने भएको छ । पार्किङको काम जेठ महीनाभित्रमा सकिने छ । दुई चरणमा जुम्ला विमानस्थलको स्तरोन्नतिको काम भएको हो । जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।

प्रतिक्रिया