अपराधमा संलग्न ६८६ जना पक्राउ

admin

काठमाडौँ, २६ वैशाख : महानगरीय अपराध महाशाखाले विभिन्न अपराधमा संलग्न ६८६ जनालाई पक्राउ गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहका अनुसार एक वर्षको अवधिमा विभिन्न घटनामा संलग्न ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ठगी कसुरमा १२५, चोरी कसुरमा ६८, सार्वजनिक अपराधमा ८९, विद्युतीय कारोवार ऐनमा ९३, सार्वजनिक हितमा ८५, बैङ्किङ कसुरमा ५२, लिखत कसुरमा ३८, ज्यानसम्बन्धी कसुरमा १७ र अध्यागमन ऐनमा ११ जना रहेका छन् । यस्तै महाशाखाले राहदानी, मानव बेचविखन, ज्यान मार्ने, लागुऔषध, राजश्व छली र जुवा ऐनमा समेत विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ ।

महाशाखाले एक वर्षमा ४४८ मुद्दा दर्ता गरेको जनाएको छ । महाशाखाका प्रमुख सिंहले आफ्नो एकवर्षे कार्यकालमा प्रहरी कर्मचारीको मनोवल उच्च राखेको बताउनुभयो । “अनुसन्धान र अपराध नियन्त्रणमा ९८ प्रतिशत सफल अनुसन्धान गरेका छौँ”,उहाँले भन्नुभयो । आफ्नो कार्यकालमा पूर्वराजदूत केशव झाको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो । अनुसन्धानमा कानून बमोजिम कठोर रुपमा प्रस्तुत भएको उहाँको भनाइ छ ।

महाशाखाले एक वर्षमा डाँका गरी लुटपाट गर्ने व्यक्तिलाई पक्राउ, एनसेल कार्यालयमा बम विष्पोट घटनामा संलग्न व्यक्तिलाई पक्राउ, रोहन गुरुङको घरमा बम विष्फोट गर्ने व्यक्तिलाई पक्राउ, गुण्डागर्दीमा संलग्न राजु गोर्खालीलाई पक्राउ र सट्टेबाजीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया