धर्म-संस्कारका नाममा गाउँलेले बहिष्कार गरेपछि परिवार नै विस्थापित

admin

वीरगन्ज, वैशाख २७ :  निधन भएका बुबाको अन्त्येष्टिमा कपाल नखौरिएको र हिन्दु परम्परा अनुसार १३ दिने काजकिरियाको संस्कार नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बाराको एक परिवार गाउँ छोड्न बाध्य भएको छ। बाराको सुवर्ण गाउँपालिका ६ धरमपुर गाउँका अवधेश यादवका बुबा अनुठा यादवको वैशाख १५ कलैया अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।

६१ वर्षीया अनुठाको हृदयघातका कारण उपचारका क्रममा निधनपछि उनका दुई छोरा अवधेश र पप्पुले आफ्नो घरपरिवारले अपनाउर्दै आएको कविरापन्थी धर्म अनुसार सात दिनमै किरियाकर्म सकेका थिए। बुबाको अन्त्येष्टिमा दुवै छोराले कपाल खौरिएका थिएनन्। बुवाको काजकिरिया सामाजिक परम्परा र हिन्दु धार्मिक रीतिरिवाज अनुसार नगरेपछि गाउँका अगुवाले गाउँमा भेला गरेर परिवारलाई नै सामाजिक बहिष्कार गरेका हुन्। गाउँले भेला भएर सामाजिक बहिष्कार गर्ने उर्दी जारी भएपछि परिवार नै गाउँ छोड्न बाध्य भएको हो।

यादव परिवार अहिले हेटौंडाको कमानेमा बस्दै आएको छ। ‘मेरो बुबाले ५० वर्षदेखि कबिरापन्थी धर्म अपनाउदै आउनु भएको थियो’, अवधेशले भने, ‘बुबाकै इच्छा अनुसार हामी दुई दाजुभाइले अन्त्येष्टिका दिन कपाल खौरिएनौँ, १३ दिने करिया पनि बसेनौँ।’ स्थानीय विद्यानन्द यादव, हृदयनारायण राउत, भरोसी राउत, गणेश यादव, मुन्सी यादव, वैद्यनाथ गिरी, श्री निवास बरै, रामाधार राउत सहितकाले गाउँले बोलाएर परिवारलाई सामाजिक बहिष्कार गर्न उर्दी जारी गरेको अधवेशले बताए।

आफ्नो परिवारसँग अ‍ैचोपैचो वा बोलचाल गर्ने वा खेतमा मजदुरी गर्न जानेलाई ५० हजार आर्थिक दण्ड गर्ने उर्दी पनि उनीहरुले जारी गरेको अवधेशको भनाइ छ। गाँउको भेलाले नै सामाजिक बहिष्कार गरेपछि अवधेशको परिवार गाउँको घर र सेलर मिलमा ताल्चा लगाएर गाउँबाट विस्थापित भएको हो।
हेटौंडाको कमानेमा पहिलेदेखि नै अवधेशको कुखुराको दानाको कारोबार छ।

उनको नौ जनाको परिवार नै विस्थापित भएको कान्छ भाइ पप्पु यादवले जानकारी दिए। सामाजिक बहिष्कार गरिएको यादव परिवारसँग बोल्ने वा कुनै किसिमको व्यवहार गरेमा ५० हजार दण्ड गर्ने निर्णय अगुवाले गरेको भन्दै स्थानीय ५५ वर्षीय दुर्गा यादवले भने, ‘त्यही डरले गाउँका कुनै पनि व्यक्ति सानो होस् वा ठूलो उमेरको, कोही पनि यादवको खेतमा मजदुरी गर्न जान छाडेका छन्।’

गाउँका अगुवाले सामाजिक बहिष्कार गरेपछि जिल्ला प्रशासन कार्यालयमा गुनासो लिएर पुग्दा पनि कुनै सुनुवाइ नभएको अवधेशकी आमा विन्दादेवी यादवले बताइन्। ‘सिडिओ साबले वडामै गएर मिलाउ वा पत्रकार सम्मेलन गर भनेर जवाफ फर्काउनु् भयो’, विन्दा देवीले भनिन् ,‘गाँउमा वडा अध्यक्षलाई पनि भेटेर कुरा राख्न खोजे तर उनले पनि हाम्रो पीडा सुन्नै चाहेनन्।

सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले गाउँका मानिसले सामाजिक बहिष्कार गर्नु गलत भएको भन्दै आफूले यस घटनालाई गम्भीर रुपमा लिएको जवाफ दिए। यस क्षेत्रका सांसद रामसहाय यादवले धर्मको नाममा सामाजिक बहिष्कार गर्नु कानुनको उल्लंघन भएको भन्दै त्यसमा संलग्नलाई कार्बाही गर्न स्थानीय प्रशासनसंग आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय बाराका सूचना अधिकारी मुरारी कार्कीले भने स्थानीय गाउँपालिका र वडाका जन्रतिनिधीले घटनालाई बुझेर मिलाउनुपर्ने बताए।

प्रतिक्रिया