लगनखेल–सातदोबाटो सडक निर्माण सुस्त

रिता घिसिंग

ललितपुर, २७ वैशाख : जिल्लाको सबैभन्दा बढी सवारी चाप रहने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ ।

स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडक निर्माणको काममा प्रगति हुननसकेको हो । सर्वाेच्च अदालतले सरकारलाई तत्काल विस्तारको काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

अदालतको अर्काे आदेश नआउँदा काममा प्रगति नहुने आयोजनाका प्रवक्ता इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आफैँले ठेक्का सम्झौता भएजति ठाउँ खाली गर्न नसक्दासम्म भौतिक प्रगति हुँदैन ।”

विस्तारित यस सडकमा स्थानीयवासीले घर र जग्गा दुवैको क्षतिपूर्ति माग गर्दै आएको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पटकपटक अनुरोध गर्दासमेत विद्युतीय संरचना नहट्दा बाधा पुगेको छ । स्थानीयवासीले लगनखेलस्थित वटुकभैरव मन्दिरको पर्खाल भत्काउन नमानेको उहाँले बताउनुभयो । ‘साइट’ खाली गर्न नसक्दा सडक सम्पन्न हुनुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम नसकिएको आयोजनाले जनाएको छ ।

सडकको निर्माण विसं २०७३ जेठमा शुरु भएको थियो । विसं २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले एक वर्ष थपेको थियो । उहाँले भन्नुभयो, “ठेकेदारले ढिलाइ गरेको भन्दा पनि अदालतको निर्णयले काम अघि बढाउन नसकिएको हो ।” आयोजानले काठमाडौँ उपत्यकाका १२ सडकमा विस्तारको काम शुरु गरिरहेकामा अधिकांश सडकको भौतिक प्रगति कम छ ।रासस

प्रतिक्रिया