डडेल्धुरा अस्पतालः नाम परिवर्तन भयो सेवा भएन

रिता घिसिंग

डडेल्धुरा : सरकारले सुदूरपश्चिम प्रदेशको मध्यविन्दुमा अवस्थित डडेल्धुरा अस्पताललाई गत फागुनमा सङ्घ मातहत राखे पनि भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्नेतर्फ भने ध्यान दिएको छैन । विसं २०७० मा टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरालाई गाभेर डडेलधुरा अस्पताललाई ‘उपक्षेत्रीय डडेल्धुरा अस्पताल’(पुरानो नाम) बनाइएको थियो ।

अस्पतालमा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एक जना मात्रै कार्यरत रहेका अस्पतालका निमित्त प्रमुख डा जीतेन्द्र कँडेलले बताउनुभयो । हाल अस्पतालमा मेडिकल अफिसरसहित १३ स्वास्थ्यकर्मी कार्यरत छन् ।

अस्पतालमा ३० स्टाफ नर्सको दरबन्दी भए पनि अहिले चार जनामात्रै कार्यरत छन् । “अस्पतालमा अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अभाव छ”, कँडेलले भन्नुभयो । कुनै समय सुदूरपश्चिम क्षेत्रमा राम्रै पहिचान बनाएको डडेल्धुरा अस्पतालले हाल दिँदैआएको सेवा सुविधा सन्तोषजनक नभएको स्थानीयवासी बताउँछन् ।

सङ्घ मातहत राखिए पनि त्यसअनुसार जनशक्ति र भौतिक पूर्वाधारमा सरकारले ध्यान नदिँदा उपचार सेवा प्रभावकारी हुन सकेको छैन । “कहिले प्रदेश त कहिले सङ्घीय सरकार मातहत राखिएको प्रचार भयो”, डा कँडेलले भन्नुभयो, “तर अस्पतालमा सेवासुविधा र गुणस्तर सुधार गर्नेतर्फ भने कसैले ध्यान दिएका छैनन् ।”

दलित बस्तीमा खानेपानी हाहाकार
अजयमेरु गाउँपालिकाअन्तर्गत साविक अजयमेरु गाविस वडा नं ७ र ८ मा १२० परिवार दलित बस्तीमा खानेपानी हाहाकार भएको छ । अजयमेरुका हाँट र जिजोडा गरी हलिया बस्तीमा खानेपानी अभाव भएको छ ।

खानेपानीको नौला धारको मुहान सुक्दै गएकाले खानेपानी हाहाकार भएको अजयमेरु हाँटका लोकबहादुर सार्कीले बताउनुभयो । हाँटका ७८ परिवार दलित समुदाय एक घण्टा पैदल दूरी टाढा हाँट खोलाबाट दूषित पानी खान बाध्य भएको सार्की दुखेसो पोख्नुहुन्छ । हाँट खोलामा पनि माछा मार्नका लागि विषादी प्रयोग गर्ने हुँदा त्यस्तै पानी खानुपर्ने बाध्यता भएको उहाँको भनाइ छ ।

अहिले हाँट र जिजोडामा खानेपानी हाहाकारसँगै खुला दिसापिसाब गर्ने गरेको पाइन्छ । पहिले नै अजयमेरु – २ मा पर्ने साविकको अजयमेरु गाविस खुला दिशामुक्त गाविस घोषणा गरिए पनि खानेपानीको अभावले चर्पी प्रयोग नभएको हाँटका लोकबहादुरले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया