खरीद ऐन सच्याउनुपर्छ : मन्त्री खत्री

admin

वीरेन्द्रनगर, २७ वैशाख: कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीले विकासका गतिविधि अगाडि बढाउन सार्वजनिक खरीद ऐन बाधक रहेको बताउनुभएको छ । उक्त ऐनको कारण निर्माण व्यवसायीलाई काम गर्न समस्या भएको भन्दै यसलाई सच्याउनुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । मन्त्री खत्रीले सम्पन्न भएका विकास निर्माणका कामको गुणस्तर जाँच गर्ने संयन्त्र बनाउनुपर्नेका जोड दिनुभयो ।

नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको १९ औँ वार्षिक साधारणसभामा मन्त्री खत्रीले भन्नुभयो, “तपार्इँहरु गुणस्तरीय काम गर्नुहोस् म सहयोग गर्छु, सम्झौताअनुसार काम गर्नुहोस् ।” सरकारको कुल बजेटको ७० प्रतिशत निर्माण व्यवसायतिर हुने भन्दै उहाँले इमान्दारिताका साथ काम गर्न आग्रह गर्नुभयो ।  निर्माण व्यवसायी सङ्घ कर्णाली प्रदेशका अध्यक्ष मोहनप्रसाद आचार्यले हरेकतिरबाट निर्माण व्यवसायीलाई प्रहार गरेको बताउनुभयो ।

“नेतादेखि कर्मचारीसम्मले निर्माण व्यवसायीलाई नै प्रहार गरेका छन्”, उहाँले भन्नुभयो, “यसमा राज्यको पनि दोष छ किन भने सेटिङ मिलाएर खाने प्रवृत्ति छ ।” नेपाल निर्माण व्यवसायी सङ्घका अध्यक्ष यामबहादुर बिसीले विकास निर्माणका कामलाई दिगो बनाउनको लागि उपभोक्ता समितिलाई हटाउनुपर्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेशभित्र भित्रिने सम्पूर्ण निर्माण सामग्रीको जाँच गरिनुपर्ने धारणा राख्नुभयो । रासस

प्रतिक्रिया