एकै दिन दुई हजारभन्दा बढी स्थानमा डढेलो

admin

काठमाडौँ, २७ वैशाख : नेपालको इतिहासमा एकै दिन सबैभन्दा धेरै दुई हजार चार स्थानमा वन डढेलो लागेको देखिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस स्याटलाइटको तस्बीरअनुसार पछिल्लो २४ घण्टामा नेपालका ४३ जिल्लामा दुई हजार चार स्थानमा वन डढेलो लागेको देखिएको हो । नेपालमा यसअघि एकै दिनमा सबैभन्दा बढी डढेलो लागेको तथ्याङ्क यही वैशाख १६ गते रेकर्ड गरिएको वन तथा भू–संरक्ष विभागका उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्माले जानकारी दिनुभयो । त्यस दिन एक हजार ८७१ स्थानमा वन डढेलो लागेको थियो ।



नासाको उक्त तस्बीर हेर्दा कैलालीका ३९७, दाङका २८७, सुर्खेतका २२०, डडेल्धुराका १५९, बर्दियाका १५८, सल्यानका १३९, कञ्चनपुरका १३७, डोटीका ११२, अर्घाखाँचीका ७६, प्यूठानका ६९, अछामका ६६, बाँकेका ५४, गुल्मीका २१, धादिङका १७, कपिलवस्तुका १६, दैलेखका नौ, रुपन्देही र सिन्धुपाल्चोकका सात÷सात, बैतडी र नुवाकोटका छ÷छ, स्थानमा तथा बझाङ, मकवानपुर, पाल्पा र सिन्धुलीका चार÷चार स्थानमा वन डढेलो लागेको देखिएको छ ।

सोबाहेक अन्य १९ जिल्लामा दुई÷तीन स्थानमा डढेलो लागेको देखिएको छ । सामान्यता नेपालमा वैशाख दोस्रो साता सबैभन्दा बढी डढेलो लाग्ने समय हो र ८० प्रतिशतभन्दा बढी आगलागी मध्य फागुनदेखि मध्य वैशाखसम्म लाग्ने गरेको छ । तर, यस वर्ष वन डढेलोको क्रम फरक देखिएको उहाँले बताउनुभयो । डढेलो विज्ञ शर्माले भन्नुभयो, “यतिखेर वन डढेलोको क्रम घट्नुपर्ने हो तर त्यस्तो देखिएन, हालसम्मको वन डढेलोको प्रक्षेपण हेर्दा पछाडि धकेलिएको देखिन्छ, आशा गराँै यो नै ‘पिक फायर’ होस् ।” तुलनात्मक रुपमा डढेलोका घटना बढिरहेको देखिए पनि यस वर्ष हालसम्म कुनै ठूलो जनधनको क्षति भएको खबर प्राप्त नभएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

सरकारले वन डढेलोलाई अन्य विपद्जस्तो प्राथमिकतामा नराखेको सरोकारवालाको भनाइ छ । वन डढेलो नियन्त्रणको प्रतिकार्यका लागि तीनै तहका सरकारसँग पर्याप्त उपकरण र जनशक्ति नभएको मन्त्रालयको स्वीकारोक्ति छ । जलवायु परिवर्तनका कारणले तापमानमा वृद्धि हुँदा डढेलोका घटना बढेका हुन सक्ने बताइन्छ ।

मन्त्रालयले डढेलोबाट हुने क्षति रोक्न पहिलो पटक यस वर्ष सतर्कता प्रणाली (अलर्ट सिष्टम) सहितको ‘अग्नि नियन्त्रण कक्ष’ स्थापना गरे पनि त्यो अझै पूर्ण सञ्चालनमा आइसकेको छैन । यद्यपि सो कक्षबाट सम्बन्धित सबै जिल्ला डिभिजन कार्यालयलाई सतर्कता अपनाउन निर्देशन दिइसकेको मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाले बताउनुभयो ।

नेपालमा ६४ प्रतिशत वन डढेलो व्यक्तिले जानीजानी लगाउने, ३२ प्रतिशत लापरवाही तथा दुर्घटनाबाट हुने र चार प्रतिशत अन्य स्रोतबाट आगलागी हुने गरेको विभागको तथ्याङ्क छ । वन डढेलोबाट जनधनको क्षतिका साथै वस्तुभाउ र जङ्गली जनावर नष्ट हुने, जैविक विविधताको विनाश, मानिसको स्वास्थ्य र वातावरणमा ठूलो असर पर्ने गरेको छ । डढेलोले सबै वन क्षेत्र विनाश नहुने भए पनि साना बिरुवा, घस्रिने तथा छिटो दौडन नसक्ने जनावरको बढी क्षति हुने गरेको छ ।

प्रतिक्रिया