विभिन्न माग राख्दै नर्सको आमरण अनशन शुरु

admin

भक्तपुर, २७ वैशाख : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अङ्ग प्रत्यारोपण केन्द्र) का नर्सहरुले आजदेखि आमरण अनशन शुरु गरेका छन् । विभिन्न माग राख्दै आन्दोलन शुरु गरेको १६औँ दिनसम्म पनि नर्सहरुको माग सम्बोधन गर्नुभन्दा उल्टै प्रहरी बोलाएर यातना दिएको भन्दै माग पूरा गराउन दबाबस्वरुप दुई जना नर्सले आमरण शुरु गरेका छन् । केन्द्रका नर्सहरुले सञ्चालन गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आजदेखि पोखराकी नर्स जीता बरालले लाजिम्पाटस्थित नर्सिङ सङ्घको भवन र मानव अङ्ग प्रत्यारोपण केन्द्रमै कार्यरत नर्स डिकी शेर्पाले केन्द्रकै भवनमा आज साँझ ६ बजेदेखि प्रेस विज्ञप्ति जारी गर्दै आमरण अनशन शुरु गरेका हुन् ।

नेपाल नर्सिङ सङ्घकी आजीवन सदस्यसमेत रहनुभएकी नर्स जीताले अन्यायमा परेका नर्सहरुको मागलाई समर्थन गर्न आमरण अनशन शुरु गरेको बताउँदै माग पूरा नभए मे १२ मा मनाइने नर्सिङ दिवसको कुनै औचित्य नरहने बताउनुभयो । केन्द्र सञ्चालनमा आएदेखि कार्यरत नर्सहरुलाई प्राथमिकतामा राखेर स्थायी गरिनुपर्ने, अनुभव हेरेर बढुवा गर्नुपर्ने, जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर अनशन शुरु गरेको अनशनमा रहेकी शेर्पाले बताउनुभयो ।

आन्दोलनरत नर्सहरुले केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठको ज्यादती अन्त्य हुनुपर्ने र नर्सहरुले राखेका मागहरु तत्काल पूरा गर्नुपर्ने माग गर्दै स्वास्थ्य मन्त्रालयमा समेत दबाब दिइरहेका छन् । नर्सहरुको आन्दोलन दमन गर्न प्रहरी प्रशासन लगाएर पक्राउ गर्ने र हिरासतमा राख्ने कार्य निर्देशक डा श्रेष्ठले गराइरहेको नर्सहरुको आरोप छ ।

प्रतिक्रिया