रजस्वला हुँदा अझै कक्षा छोड्न बाध्य, वर्षमा ४८ दिन पढ्न पाउँदैनन्

admin

हुम्ला, बैशाख २८ :  विद्यालयमा व्यवस्थित शौचालय र पानीको अभावका कारण हुम्लाका विकट गाउँबस्तीका छात्राहरू रजस्वला हँुदा विद्यालय जान पाउँदैनन् । उनीहरूले महिनामा चार दिन विद्यालय छोड्नुपर्छ । यस हिसाबले एक वर्षमा छात्राहरू ४८ दिन विद्यालय छाड्न बाध्य हुने गरेका छन् । हुम्लाको ताँजाकोटको धर्मोदय माविमा हाल ३१८ जना विद्यार्थी अध्ययनरत छन् ।

जसमध्ये १९२ जना छात्रा छन् । प्रायः कक्षा ६ देखि माथिका छात्राहरू महिनाको एकपटक रजस्वला हुन्छन् । प्राकृतिक रूपमा नै चार दिनसम्म असहज हुने र बार्नुपर्ने भएकाले महिनाको करिब चार दिन उनीहरू विद्यालयमा नआउने गरेको विद्यालयका शिक्षकले बताएका छन् । सरकारले महिनावारी भएका छात्रालाई निःशुल्क प्याड बाँड्ने नीति लिए पनि हुम्लामा सरकारको सो नीतिले व्याहारिक रूप पाउन सकेको छैन । प्याडको अभाव भएकाले पनि विद्यालय आउन कठिन हुने गरेको छात्रा बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

महिनावारीका कारण वर्षमा ४८ दिन छात्रा विद्यालय नआउने हुँदा उनीहरूको अध्ययनसमेत प्रभावित हुने गरेको छ ।प्रधानाध्यापक गंगादत्त जोशीले आजभोलि पनि प्रायः छात्रा महिनावारी भएका बेला विद्यालय नआउने गरेको बताए । धर्मोदय माध्यमिक विद्यालयमा राम्रो शौचालय र पानीको व्यवस्था नहँुदा महिनावारी भएका छात्राहरू समस्यामा पर्ने गरेका छन् । महिनावारी भएको बेला विद्यालयमा आउँदा विभिन्न समस्या भोग्नुपर्ने भएकाले आफूहरू नआउने गरेको विद्यालयकी छात्रा किसिन बस्यालले बताइन् । ‘विद्यालय आइरहेका बेला शौच गर्नुप¥यो अथवा महिनावारी भइहालेमा छात्राहरूका लागि छुट्टै शौचालयसमेत नहुँदा दौडेर टाढा जानुपर्छ र विभिन्न समस्या भोग्नुपर्छ,’ उनले भनिन् ।

कक्षा ८ मा पढ्ने केशमी थापाले महिनावारी भएका बेला आफूहरू विद्यालयमा नआउने गरेको र तीन चार दिनपछि आउँदा पनि अरू साथीहरूभन्दा छुट्टै बस्ने गरेको बताइन् । महिनावारीका कारण आफूहरूको पढाइसमेत छुट्ने गरेको उनले बताएकी छन् । उनले महिनावारी भएका बेला विद्यालय आउनका लागि विद्यालयमा छात्राका लागि प्याड, शौचालय र शौचालयमा पानीको व्यवस्था गर्न सके मात्र सहज हुने बताइन् ।

छात्र र छात्राहरूका लागि छुट्टाछुट्टै शौचालय पनि छैन र भएको शौचालय पनि जीर्ण अवस्था र पानी पनि नहुँदा विद्यार्थीहरू लामो समयदेखि समस्यामा रहेको विद्यालयका प्रधानाध्यापक जोशीले स्वीकारेका छन् । प्रधानाध्यापक जोशीले सम्बन्धित स्थानीय तहमा लामो समयदेखि पहल गरे पनि सो समस्या समाधान हुन नसकिरहेको बताए । विद्यालय भवन पनि जीर्ण अवस्थामा रहेको सो विद्यालयमा बस्नका लागि कक्षाकोठा, डेस्कबेन्च र खानेपानीको समेत चरम अभाव छ ।

ताँजाकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले विद्यालयमा शिक्षक दरबन्दीअनुसारका शिक्षक नहँुदा गाउँपालिकाबाट करार शिक्षकको व्यवस्था गरेको बताए । विद्यालयमा हाल पानीको समस्या भइरहेको बताउँदै प्रशासकीय अधिकृत शाहीले पानीको व्यवस्थाका लागि पहल भइरहेको बताए ।

प्रतिक्रिया