सातै स्थानीय तहमा यातायात

admin

डडेल्धुरा २८, वैशाख: डडेल्धुराका गाउँ–गाउँमा यातायातको पहुँच सहज हुँदै गएको छ । सात स्थानीय तह रहेको डडेल्धुराका सबै स्थानमा यातायातको पहुँच पुगेको छ ।जिल्लामा रहेका सात स्थानीय तहका ५२ वडामध्ये अधिकांश वडाका कुनै न कुनै ठाउँमा सडक निर्माण भएसँगै गाउँ–गाउँमा यातायातको पहुँच सहज हुँदै गएको हो । जिल्लाका सातवटै स्थानीय तहका ५२ वडामध्ये ५० वडाका केन्द्रसम्म यातायातको पहुँच पुगेको छ । स्थानीय तहले विकासको पहिलो आधार सडक भएको भन्दै सडक निर्माणलाई तीव्रता दिएपछि जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा पनि यातायात पुगेसँगै स्थानीय बासिन्दालाई सुविधा पुगेको छ ।

फाइल तस्बिर


यहाँका स्थानीय तहहरुले गाउँपालिका सदरमुकामदेखि वडा कार्यालयका केन्द्रसम्म जोड्ने गरी सडक निर्माणलाई तीव्रता दिएका छन् । सडक निर्माणसँगै यातायात सञ्चालन हुँदा ग्रामीण क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतका साथै ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तुको बिक्री गर्न बजारसम्म पुग्न तथा बिरामीलाई अस्पतालसम्म लैजान सहज भएको गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डौँका टङ्क पनेरुले बताउनुभयो ।

स्थानीय तहका सबै वडामा यातायत पुगेसँगै कृषकका स्थानीय उत्पादन बजारसम्म पु¥याउन र बजारका खाद्य सामग्री गाउँमा लैजान सहज भएको अजयमैर–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले जानकारी गराउनुभयो । व्यापारी पनि सर्वसाधारणको हितका लागि भन्दै नुनतेलसँगै खाद्य सामग्री बेचबिखनका लागि गाउँमै आउने गरेको अजयमेरु–२ का विश्ना खातीले बताउनुभयो ।

स्थानीय सरकारको गठन भएसँगै सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको भए पनि अधिकांश ग्रामीण सडक मापदण्डअनुसारका नभएकाले दुर्घटनाको जोखिम पनि उत्तिक्कै रहेको छ । सडक निर्माणसँगै स्तरोन्नति गरी ग्रामीण क्षेत्रमा बाह्रै महीना यातायात सञ्चालन गर्न सकिने सडक निर्माण गर्नु आवश्यक रहेको स्थानीयवासी बताउँछन् ।

जनप्रतिनिधिले अफ्नो पहिले काम गाउँगाउँमा सडक खन्ने रहेको छ । गाउँमा सडक पुगेसँगै मापदण्डअनुसार बाटो नहँुदा र दैनिक सवारीसाधन नचल्दा जोखिम मोलेर यात्रा गर्न सर्वसाधारण बाध्य छन् । सडकको स्तरोन्नति पनि चाँडै गरिने जनप्रतिनिधिको भनाइ छ । “हालसम्म बाटो पु¥याउने काम भयो, अब स्तर उकास्नमा लगानी गरिने छ ”, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लको भनाइ छ ।

सेमी कभर्ड हल बन्ने
यहाँ पहिलोपटक सेमी कभर्डहलको निर्माण हुने भएको छ । जिल्ला सदरमुकाम टँुडिखेलमा रहेको मिनी कभर्डहल गत साउनको वर्षात्का कारण भत्किएपछि टुँडिखेलमै सेमी कभर्डहल निर्माण हुनथालेको हो । ३० मिटर लम्बाइ र २० मिटर चौडाइ भएको कभर्डहलको उचाइ ३० फिटको हुनेछ । करीब रु दुई करोड ५० लाख लागतमा निर्माण हुने कभर्डहल बनाउन हाल पहिलो चरणमा राष्ट्रिय खेलकूद परिषद्ले रु १० लाख विनियोजन गरेको जिल्ला खेलकूद विकास समिति डडेल्धुराका अध्यक्ष राजेन्द्र मगरले बताउनुभयो ।

कभर्डहल एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम सञ्चालन भएको छ । सेमी कभर्डहल निर्माण भएपछि इन्डोरका सबै खेल गर्न सकिने भएको छ । निर्माण हुने सेमी कभर्डहलको शुक्रबार सांसद नीरा जैरुले शिलान्यास गर्नुभयो । कभर्डहल नहुँदा यहाँका खलाडीले वर्षात् र हिउँदको समयमा इन्डोरका खेल खेल्न पाएका थिएनन् ।

सेमी कभर्डहल निर्माण भएपछि इन्डोरका खेल सञ्चालनका लागि सहज हुने भएकाले खेलाडी खुशी भएका छन् । जिल्लामा रहेको एक मात्र मिनी कभर्डहल भत्किएपछि इन्डोरका खेल शून्यजस्तै हुँदा सम्पूर्ण खेल प्रभावित भएको र खेलकूदको विकासमासमेत बाधा पुगेको गुनासो खेलाडीले गर्दै आएका छन् । कभर्डहल निर्माण हुने भएपछि खेलाडीको हौसला बढेको डडेल्धुरा क्याम्पसका स्ववियु सभापति तथा भलिबल खेलाडी जगत ऐरले बताउनुभयो ।

प्रतिक्रिया