दुई सय परिवारलाई सौर्य बत्ती वितरण

कृष्ण रोकाया

रुकुमपश्चिम, २८ वैशाख :सानीभेरी गाउँपालिका–१० का आधा दर्जन बढी टोलका २०० परिवारले सोलार बत्तीको उज्यालोमा बस्न पाएका छन् । पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) जिल्ला समन्वय एकाइले वडाका २०० घरपरिवारलाई सोलार उपलब्ध गराएको हो ।



वडाका तिमिले, चिन्तु, सार्कीमारे, घण्ठाना, डाँडाअर्मा, दाब्रेखोला, लाहौरडेरा र भेरीटोलका नागरिकलाई ७६ प्रतिशत अनुदानमा सोलार उपलब्ध गराइएको छ । सोलार वितरणका लागि कूल रु २६ लाख ३५ हजार १५० खर्च लागेको आशाले जनाएको छ ।

आशाले रु २० लाख १५ हजार १५० र उपभोक्ताले रु छ लाख २० हजार नगद ब्यहोरेका छन् । प्रतिसेट रु १२ हजार ९१७ का दरले खरीद गरी वडाका ३६० मध्येमा २०० परिवारलाई बाँडिएको आशा परियोजनाकी निमित्त जिल्ला संयोजक भारती केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कूल लागतमा ७६.४८ प्रतिशत खर्च आशा र २३.५२ प्रतिशत उपभोक्ताले लगानी गरेका छन् । विद्युत्को पहुँचमा नपुगेका नागरिकलाई वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत्को पहुँचमा पु¥याउने उद्देश्यले सोलार वितरण गरिएको उहाँले बताउनुभयो ।

परियोजनाले जलवायु अनुकूलनका लागि भौतिक र आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरिरहेकामा भौतिकतर्फको कार्यक्रमअन्तर्गत नागरिकलाई सोलार बाँडिएको जनाइएको छ । स्थानीय शिवशक्ति कृषक समूहसँग सम्झौता गरी सोलार बाँडिएको हो । गाउँपालिका अध्यक्ष नरबहादुर पुनले सोलार वितरण गर्नुभयो ।

सोलार वितरण कार्यक्रमबाट जलवायु परिवर्तनका कारण निम्तिएका असरलाई कम गर्नका लागि सहयोगीको भूमिका खेल्ने उद्देश्य राखिएको छ । मानवीय गतिविधिका कारण कार्वन उत्सर्जन भई वातावरणलाई असर नगरोस् भन्ने उद्देश्यका साथ सोलार वितरण गरिएको आशा परियोजनाकी जिल्ला जलवायु परिवर्तनविज्ञ रेविका गुरुङले बताउनुभयो ।

“विद्युत्को पहुँच नपुगेका गाउँमा उज्यालोका लागि दाउरा, दियालो, मट्टितेल र पेट्रोल बाल्दा कार्वन उत्सर्जन बढिरहेको छ”, उहाँले भन्नुभयो, “सोलारबाट उज्यालो बनाई कार्वन उत्सर्जन रोक्न टेवा पु¥याउने उद्देश्यले सोलार उपलब्ध गराइएको हो ।”

आशाले स्थानीय योजना अनुकुलन कार्ययोजना (लापा) कार्यक्रम लागू भएका जिल्लाका विभिन्न ठाउँमा जलवायु अनुकूलनका लागि काम गरिरहेको गुरुङको भनाइ छ । वडाका ३६० घरपरिवारमध्येमा २०० परिवारलाई सोलार उपलब्ध गराइएपछि वडाका अधिकांश परिवार सोलारबाट झिलीमिली हुँदैछन् ।

यस पटक सोलार पाउन नसकेका १६० घरपरिवारमध्येमा अधिकांश घरपरिवार यसअघि नै सोलारबाट झिलीमिली छन् । बिहीबार बाँडिएका सोलार जडान गरिएपछि वडाका केहीबाहेक अधिकांश घरपरिवार झिलीमिली हुनेछन् ।

निःशुल्क एम्बुलेन्स सेवा

मुसीकोट नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाले आफ्नै लगानीमा एम्बुलेन्स खरीद गरी सञ्चालन गरेको हो । बिरामीलाई भरपर्दाे र सुलभ सेवा दिने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालन ल्याइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले रु नौ लाख ५३ हजारमा नयाँ एम्बुलेन्स किनेको छ ।

नगरपालिकाबाट विनियोजित बजेटबाट एम्बुलेन्स खरीद गरी सेवा शुरु गरिएको नगरपालिकाका प्रमुख देवीलाल गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाभित्र हुने कुनै पनि आकस्मिक घटनामा एम्बुलेन्सले निःशुल्क सेवा दिने छ । “नगरभित्रका कुनै पनि ठाउँमा दुर्घटनाजस्ता आकस्मिक घटना भएमा उक्त घटनामा नगरको एम्बुलेन्सले निःशुल्क सेवा दिने छ”, उहाँले भन्नुभयो । यसबाट नगरवासीलाई ठूलो राहत पुग्ने नगर प्रमुख गौतमको भनाइ छ ।

नगरपालिकाको एम्बुलेन्सले जिल्लामा तोकिएको एम्बुलेन्स भाडाभन्दा १५ प्रतिशत छुटमा सेवा दिने बताइएको छ । “हामीले नयाँ एम्बुलेन्स किनेर सञ्चालनमा ल्याएका छौँ”, नगर प्रमुख गौतमले भन्नुभयो, “हाम्रो एम्बुलेन्सले हाल जिल्लामा चलेको भाडाभन्दा १५ प्रतिशत कममा सेवा दिइरहेको छ ।”

भरपर्दो र सुलभ स्वास्थ्य सेवा दिने आफूहरुको लक्ष्य रहेकामा त्यसैअन्तर्गत सस्तोमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । मुसीकोट नगरपालिका एम्बुलेन्स सञ्चालन गर्ने जिल्लाको तेस्रो स्थानीय तह बनेको छ । जिल्लाको चौरजहारी नगरपालिका र आठबीसकोट नगरपालिकाले यसअघि नै एम्बुलेन्स सेवा सञ्चालन गरिसकेका छन् । रासस

प्रतिक्रिया