पचली भैरवमा वाग्मती तीर्थ यात्रा

admin

काठमाडौँ, २८ वैशाख: ऐतिहासिक वाग्मती तीर्थयात्रा समूह टेकुस्थित पचली भैरव मन्दिर परिसरमा आइपुगेको छ । वैशाख शुक्ल षष्ठीका दिन शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरबाट यात्रा शुरु भएको थियो । कार्यविनायकमा पूजा एवं स्नान गरी कटुवाल दह हुँदै शिखरनारायणमा यात्राको बास बसेको थियो । आज बिहान शिखरनारायणबाट शुरु भएको यात्रा पैदल हिँडेर आज दिउँसो पचली भैरव आइपुगेको पशुपति क्षेत्र विकास कोषकोतर्फबाट संयोजन गरिरहनुभएका बरुण खतिवडाले राससलाई जानकारी दिनुभयो ।


आज शिखरनारायण–जलविनायक–आदिनाथ–सुन्दरीघाट–कुलेश्वर हु्ँदै यात्रा पचलीभैरव आइपुगेको हो । यस क्रममा शिखरनारायण तीर्थस्नान, पूजा एवं दर्शन गरेर जलविनायकमा रहेका तीर्थ स्नान तथा विनायकको पूजा गरिएको थियो । आदिनाथ दर्शन, सुन्दरीघाट बल्खुमा स्नान, टेकु दोभानको पञ्चलिङ्गमा पूजा एवं दर्शन गर्दै पचली भैरव आइपुगेको हो । आजको यात्राका क्रममा १४ वटा तीर्थमा स्नान, पूजा र दर्शन गरियो । शुक्रबार २३ तीर्थमा स्नान, पूजा र दर्शन गरिएको थियो । पचली भैरवमा ६४ बालुवाको शिव लिङ्ग बनाई पूजा आराधना गरिने कार्यक्रम रहेको कोषले जनाएको छ ।

यसैगरी बेलुकी सूर्यास्तपछि वाग्मतीको तान्त्रिक पूजा गरिनेछ । तान्त्रिक पूजार पशुपतिनाथ आगम घरका पुजारी मदन भट्टले गर्नुहुनेछ । शुक्रबार १६ बालुवाको शिव लिङ्ग बनाई वाग्मती किनारमा पूजा आराधना गरिएको थियो । तान्त्रिक पूजापछि पुजारी महेश भट्टले वाग्मतीको माहात्म्य वाचन गर्नुहुनेछ । ने मुनिले शुरु गर्नुभएको विश्वास गरिने वाग्मती तीर्थयात्रा वाग्मती प्रदूषित हुन थालेपछि विसं २०३५ देखि बन्द भएको थियो ।

कोषका सदस्य सचिव डा प्रदीप ढकालको विशेष पहलमा विसं २०७५ देखि तीर्थ यात्रा पुनःशुरु भएको हो । तीर्थ यात्राका क्रममा कटुवालदहबाट वाग्द्वारसम्मका १६७ तीर्थ स्थलमा स्नान, पूजा, आरती, दर्शन, तान्त्रिक साधना, वाग्मती माहात्म्य वाचनलगायत कर्म गरिन्छ । आइतबार पचलीभैरवबाट शङ्खमूलसम्म यात्रा गरिने जनाइएको छ ।

प्रतिक्रिया