मन्दिर पुनःनिर्माणमा महानगरको रु ५० लाख सहयोग

admin

काठमाडौँ, २८ वैशाख: काठमाडौँ महानगरपालिकाले मैतीदेवीस्थित बेनुगोपाल मन्दिरको पुनःनिर्माणका लागि रु ५० लाख सहयोग गरेको छ ।कामपाका प्रमुख विधासुन्दर शाक्यले आज मन्दिरको पुनःनिर्माणको अवस्था अवलोकन गर्दै उक्त मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष शिवराम राजवंशीलाई उक्त रकम बराबरको चेक प्रदान गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख शाक्यले महानगरले खुला ठाउँमा नयाँ मन्दिर बनाउन नदिने तर पहिले भएका मठमन्दिरको संरक्षण र मर्मतका लागि सहयोग गर्ने बताउनुुभयो । प्रमुख शाक्यले कामपाको समृद्धिका लागि केही योजना र सोच छन् भने लिएर सम्बन्धित वडा कार्यालयमा जान वडावासीलाई आग्रह गर्नुभयो । आव २०७६÷०७७ को बजेट विकास र आवश्यकताअनुरुप नै तय गरिने उहाँले जानकारी गराउनुभयो ।

मन्दिर निर्माणको कामले वडावासीलाई आपसी भावनामा बाँधिन सहयोग पुग्ने बताउँदै २९ वडाका वडाध्यक्ष कुश ढकालले सामाजिक लाभका काममा लाग्न वडावासीलाई आग्रह गर्नुभयो । स्थानीयले मन्दिरको पुनःनिर्माणमा कामपासँग आर्थिक माग गरेपछि महानगरकोतर्फबाट रु ५० लाख उपलब्ध गराइएको हो । निर्माणको काम पूरा गराउन करीब रु २३ करोड अनुमान गरिएको छ ।

यस लगानीमा रु दुई करोड २५ लाख भक्तले दिएको दानबाट सङ्कलन भइसकेको छ । यसका लागि प्रदेशसभाका सदस्य दीपेन्द्र श्रेष्ठले रु ५० लाख उपलब्ध गराउँदै हुनुहुन्छ । मन्दिर निर्माण समितिका अध्यक्ष, शिवराम राजवंशीले रु तीन लाख, सामुदायिक प्रहरी सेवाका अध्यक्ष टङ्क श्रेष्ठले रु एक लाख प्रदान गर्ने हुनुभएको छ । स्थानीय रामदेवी श्रेष्ठले मन्दिरका नाममा उपलब्ध गराउनुभएको जग्गामा विसं २०३४ मा यो मन्दिर निर्माण गराइएको हो ।

प्रतिक्रिया