शङ्कास्पद ६६ मेट्रिक टन युरिया मल बरामद

admin

कपिलवस्तु, २८ वैशाख : कपिलवस्तुबाट शङ्कास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ । कपिलपस्तुको शिवराज नगरपालिका वडा नं ७ मा रहेको जय अम्बे प्लाइउड इण्डट्रिज रुद्रपुर र पशुपती प्लाइउड इण्डट्रिज कम्पनी लोहरौलाबाट ठूलो मात्रामा युरिया मल नियन्त्रण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विभिन्न सुराकीका आधारमा दुई हजार ६४० बोरा मल नियन्त्रणमा लिएको हो । चार सय ४० बोरा मल कम्पनीमै सिल गरिएको छ भने अन्य मल कन्टेनरसहित प्रशासनको नियन्त्रणमा रहेको छ । चीनमा उत्पादन भएको युरिया मल प्लाइउड कम्पनीले भारतको कालकता बन्दरगाह हुँदै भैरहवा भन्सार कार्यालयमार्फत नेपाल प्रवेश गरेको थियो । आज बिहान कम्पनीमा मल पुगेपछि प्रशासनले कन्टेनरसहित नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

युरिया मल आज कम्पनीमा पुगेपछि जिल्ला प्रशासन कार्यालय तौलिहवाको निर्देशनमा इलाका प्रशासन कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । युरिया मल औद्योगिक प्रयोजनका लागि हो कि कृषि प्रयोजनको हो भन्ने विषयमा यकिन नभएकाले नियन्त्रणमा लिएको प्रजिअ पोखरेलले बताउनुभयो ।

किसानले समयमा मल नपाउँदा चिन्तित भएका बेला उद्योगमा भारीमात्रमा मल भेटिनुमा समेत शङ्का गरिएको छ । कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरी भन्नुहुन्छ, “हामीले मलका लागि भौतारिरहेका छाँै तर कम्पनीमा ६६ टन युरिया मल कहाँबाट आयो, यो सोचनीय विषय भएको छ ।” जय अम्बे प्लाइउड इण्डट्रिजका सञ्चालक मनोज कनोडिया र पशुपति प्लाइउड इण्डट्रिजका सञ्चालक अशोककुमार अग्रवाल सम्पर्क नरहेको पाइएको छ ।

प्रतिक्रिया