साहित्यले विचारलाई फराकिलो बनाउँछ : सभामुख महरा

admin

काठमाडौँ, २८ वैशाख : सभामुख कृष्णबहादुर महराले साहित्यले विचारलाई फराकिलो बनाउने बताउनुभएको छ । रोल्पा गुराँस साहित्य मेलाअन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा उत्कृष्ट भएकालाई आज यहाँ आयोजित कार्यक्रममा पुरस्कार वितरण गर्दै उहाँले साहित्यले समाजलाई सही दिशामा डो¥याइरहेको बताउनु भयो । सभामुख महराले साहित्य क्षेत्रको विकासका लागि सरकारले आवश्यक ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।



कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले साहित्यले समाजमा भएका यथार्थ घटनालाई व्यङ्ग्यात्मक ढङ्गले उजागर गर्ने हुँदा साहित्यप्रतिको आकर्षण बढी रहेको बताउनुभयो । “दश वर्षे जनयुद्धको उद्गमस्थल रोल्पाको विकासले तीव्रता पाइरहेको छ”, उहाँले भन्नुभयो, “रोल्पाली नागरिकको मुहारमा उज्यालो छाउँदै छ, परिवर्तनको अनुभूति दिलाउन हामी लागि परिरहेकाछौँ ।”

कार्यक्रममा राष्ट्रिय कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई नगद र सम्मानपत्रले पुरस्कृत गरिएको थियो । वैशाखको १५ गते देखि १७ गतेसम्म भएको साहित्यिक मेलाअन्तर्गतको कविता प्रतियोगितामा खोटाङका मोहन पोख्रेलको ‘झोलामा देश’ कविता प्रथम भएको थियो ।

यस्तै कैलालीका मोहित जोशीको ‘औँलाको शहर’मा कविता द्वितीय, सिन्धुपाल्चोकका पवन ढुङ्गानाको ‘म नै सर्वहारा’ कविता तृतिय भएको थियो भने नुवाकोटका गीता पुडासैनीको ‘रोल्पा’ शीर्षकको कविता र सिन्धुपाल्चोकका सुन्दर श्रीषको कविता ‘अक्षरको समाजशास्त्र’ले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई रु ४० हजार द्वितीयलाई रु ३० हजार, तृतियलाई रु २० हजार र सान्त्वनालाई रु १० हजार र सम्मानपत्रले पुरस्कृत गरिएको थियो । रोल्पा नगरपालिकाका प्रमुख पुरन क्षेत्री, निर्णायक कवि मोमिला, नवीन रोचन मगर, वासु त्रिपाठी, राज शाहले मन्तव्य राख्दै प्रतियोगिताको महत्व र निर्णायक प्रक्रियाका बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया