बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ५२८ बिरामी लाभान्वित

शर्मिला गुरुङ

म्याग्दी, २९ वैशाख : म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा शनिबार सम्पन्न बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ५२८ बिरामीले निःशुल्क उपचार सेवा गरेका छन् ।बेनी नगरपालिकाको आयोजना र बेनी अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा भकिम्लीका विभिन्न बस्तीबाट बालबालिकादेखि वृद्धवृद्धाले प्रत्यक्षरूपमा सेवा लिएका आयोजक बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका लागि स्वास्थ्य’ भन्ने मूल नारासहित सञ्चालित बृहत तथा निःशुल्क स्वास्थ्य शिविरबाट ४०९ महिला र ११९ पुरुषले सेवा लिएका प्रवक्ता बराइलीले जानकारी दिनुभयो ।उहाँका अनुसार शिविरमा भिडियो एक्सेर १०८, सुगर परीक्षण ९९ र २९ ले दाँतसम्बन्धी सेवा लिएका थिए । बेनी नगरपालिकाले चालू आर्थिक वर्षमा बेनपा ३, ४ र ९ नं वडामा स्वास्थ्य शिविर सञ्चालन गर्न रु आठ लाख बजेट विनियोजन गरेको थियो । शिविरमा ६१ महिलाको पाठेघरको जाँच र क्यान्सर रोगको परीक्षण समेत गरिएको थियो ।

बेनी अस्पतालका डा नवराज बस्ताकोटीको नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले बिरामीलाई सेवा प्रदान गरेको थियो । पछिल्लो समय चिनी रोगका बिरामी बढ्दै गएको पाइएको हुँदा खानपानमा ध्यान दिनुपर्ने, शारीरिक व्यायाम गर्नुपर्ने र नियमितरूपमा औषधि सेवन गरे यो रोगलाई न्यूनीकरण गर्न सकिने डा बस्ताकोटीले बताउनुभयो । रासस

प्रतिक्रिया